बाढी पहिरोमा २३ को ज्यान गयो, अझी ३ दिन वर्षाको खतरा


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असार

मुलुकभर अबिरल वर्षा जारी छ । यो वर्षाका कारण तीन दिन यताबाट देशका विभिन्न भुभागमा बाढी पहिरोले मानिसको ज्यान लिने क्रम पनि जारी छ ।

यो अबधिमा बाढीपहिरोबाट देशभरका विभिन्न जिल्लामा २३ जनाको मृत्यु भईसकेको गृह मन्त्रालयले शुक्रबार बेलुका जनाएको छ । मन्त्रालयका अनुसार १४ जिल्लामा पहिरोले क्षती पुर्याएको छ । बाढीपहिरोमा परी ३६ जना बेपत्ता भएका छन् भने २६ जना घाइते भएका छन् ।
जसमा बाढी पहिरोका कारण दोलखा, लमजुङ, तनहुँ, कास्की, म्याग्दी, गुल्मी, जाजरकोट, रुकुम पश्चिम बढी प्रभावित छन् ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा जारी छ । आज शनिबार पनि ठुलो वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ । आज दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको पनि महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज विशेषगरी प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान छ ।

यस्तै, प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, खोटाङ, ओखलढुंगालगायत सबै जिल्लामा बहाव उच्च हुन सक्नेछ ।
बाग्मती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काठमाडौं उपत्यका नादीमा बाढीको प्रभाव देखिने छ । यता गण्डकी प्रदेशका नवलपरासी पूर्व, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बाग्लुङलगायत आसपासका जिल्लामा रहेका खोला तथा नदीमा पानीको बहाव बढ्न सक्ने बताइएको छ ।

मनसुनी वर्षाका कारण देशैभरका नदी र खोलामा बहाब बढेको छ । बहाब बढेसँगै तटीय क्षेत्रमा खतरा पनि बढेको छ । शुक्रबार कोसी, नारायणी र आसपासका नदीहरूमा बहाब उल्लेख्य बढेको छ भने आज पूर्वको कन्काई, कमला, बाग्मतीलगायतका नदीमा बहाब बढ्नेछ । साथै सहायक नदीहरूमा पनि बहाब बढ्न गई खतराको आसपासमा पुग्न सक्ने अनुमान गरिएको छ ।

कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा पानीको बहाब बढे पनि सतर्कताभन्दा तल नै रहने भएको छ । पश्चिम राप्ती बबईलगायतका नदीमा बहाव बढे पनि खतरा तहभन्दा तल नै हुने छ । मेची, विरिङ निन्दा, खाडो, रातो, लालबकैया, पूर्वी राप्तीलगायतमा बहाव सतर्कताको आसपास पुग्ने छ ।