ब्युटी न्युज नेपाल
काठमाडौं, २६ असार

‘मान्छे मान्छे एउटै हो, छैन बीचमा कुनै बार
वारको पार वारको पार, जोडौं दिलको तर
नमस्कार, नमस्कार, नमस्कार नमस्कार….’

लकडाउनको तीन महिना बसाईले दिक्क भएका गायक प्रकाश सपूतले आज रिलिज गरेको नयाँ गीत नमस्कार…को स्थायी भा हो यो । बिगतमा विभिन्न कार्यक्रममा हजारौं दर्शकमाझ आफु प्रस्तुत भएको र पछिल्लो समय लकडाउनका कारण ती दर्शकबीच पुग्न नसक्दा मानसिक तनावमा परेको पीडा उनले यो भिडियोको सुरुमा साथीलाई प्रस्तुत गर्छन् ।

साथीले उनलाई फेरी गीत गाउनुपर्छ भन्दै विभिन्न ठाउँमा पुर्याउँछन् । सो क्रममा प्रकाशले सडकमा आश्रित मानिसहरुलाई खाना खुवाएर उनीहरुका लागि गीत प्रस्तुत गर्छन । त्यसपछि विभिन्न व्यबसायिक केन्द्र र अनाथआश्रममा समेत पुगेर आफ्ना गीतहरु सुनाउँछन् । यसरी गीत प्रस्तुत गर्दा आफु तनाव मुक्त भएको उनले साथीलाई बताउँछन् ।

लोक पप शैलीको यो गीतमा प्रकाशकै शब्द तथा संगीत रहेको छ । यात्रा शैलीमा निर्माण गरिएको गीतको भिडियोमा गायक प्रकाश नायक शैलीमा प्रस्तुत भएका छन् । पछिल्लो पटक चलचित्र परदेशी २ मा नायकको रुपमा अनुबन्धित भएका यी अभिनेताले यो गीतमा पनि आफुलाई सामाजिक कार्य, गेस्टर, पोष्टर देखि नृत्यमा समेत आफुलाई नायकी शैलीमा पस्केका छन् । यो गीतबाट उनले जातीय रुपमा हुने विभेदलाई अन्त्य गर्न ‘मान्छे मान्छे एउटै हो, छैन बीचमा कुनै बार, वारको पार वारको पार, जोडौं दिलको तर, नमस्कार नमस्कार नमस्कार नमस्कार…’ भनेका छन् । गीत आफैंमा कर्णप्रियसँगै सन्देश प्रधान छ । यो गीतलाई गायक प्रकाशले आफ्नै च्यानलबाट आज रिलिज गरेका हुन् ।

नमस्कारको भिडियोमा प्रकाशसँगै विराज थापा, किरण मगरको अभिनय रहेको छ । यो भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् । एउटा अन्तरामा नृत्य कलाकार कविता नेपालीले प्रकाशलाई नृत्यमा साथ दिएकी छिन् । भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन भने र अनिल के मानन्धरको यसमा छायाँकन रहेको छ ।