कोरोना सँक्रमणबाट बाग्लुलङमा २९ वर्षीय पुरुषको निधन, मृतक ३५ जना पुगे


ब्युटी न्युज नेपाल
पोखरा, २१ असार

नेपालमा आज थप एक जनाको कोरोना सँक्रमणका कारण मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिकाका –२ का २९ वर्षीय पुरुषको ढोरपाटन नगरपालिकास्थित क्वारेन्टाइनमा आज आईतबार बिहान मृत्यु भएको हो । ति युवाको कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले सञ्चारकर्मीलाई बताएका छन् । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३५ जना पुगेको छ ।

ती युवा केही समय अघि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसिरहेका थिए । मिर्गौला, फोक्सो र स्वासप्रस्वासमा समस्या देखिएपछि भारतमा उपचार गराउन गएका उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि घर फर्किएको हुन् । मृतक युवकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ ।