आज ७४० जनामा कोरोना, सँक्रमित १५ हजार नाघे, थप १ को मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ असार

नेपालमा आज एकै दिन ७ सय भन्दा बढीमा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ७४० जनामा कोरोना सँक्रमण देखिएको हो । नेपालमा कोरोना सँक्रमण देखिए यता एकै दिनमा ७ सय सँक्रमित नाघेको यो पहिलो घटना हो ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो पटक थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै अछामका २३० जना छन् । यस्तै कैलालीका ५८ जना, बाजुराका ५३, डोटीका ४७, कञ्चनपुरका ४५, बैतडीका ४०, रौतहटका २९, डडेलधुरा र झापाका २८/२८ जना, सिराहाका २४, नवलपुरका १९, धनुषाका १६, बझाङका १४, दैलेखका १२ र बर्दियाका १० जामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपरासी, दाङ र तनहुँका ९/९ जनन, सप्तरी, कपिलवस्तु, सल्यान ८/८ जना सुर्खेत र महोत्तरीका ६/६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै उदयपुर र मोरङका ५/५ जना, पर्वतका ३ तथा कास्की र पर्साका २/२ जना छन् । यस्तै, चितवन, सर्लाही, सिन्धुपाल्चोक, पाल्पा, कालीकोट, रोल्पा र बाग्लुङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि डा. गौतमले बताए ।

यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या १५ हजार २५९ पुगेको पनि प्रवक्ता गौतमले नियमित पत्रकार भेटघाटमा बताएका छन् ।

यस्तै आज क्वारेन्टाईनमा ३५ हजार ४४७ जना रहेका छन् । हाल आईसोलेसनमा ९ हजार ४० जनाको उपचार भईरहेको पनि डा. गौतमले बताए ।

पछिल्लो २४ घन्टामा ८२३ जना कोरोना सँक्रमण मुक्त भएर घर फर्किएका छन् । हालसम्म कोरोनाबाट मुक्त भएर डिस्चार्ज भएकाहरुमा ६ हजार १४३ जना रहेका छन् ।

यस्तै कोरोना सँक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । सो मृत्युसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३२ जना पुगेको छ । काठमाडौंको नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुषको कोरोना सँक्रमणबाट निधन भएको हो । उनको उपचारको क्रममा असार १७ गते उनको निधन भएको थियो । उनको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३२ पुगेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।