कलाकारलाई मार्यादित हुन कलाकार संघको आग्रह


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असार

कलाकारहरुले मनपरि बोल्न थालेपछि नेपाल चलचित्र कलाकार संघले बिहिबार एक विज्ञप्ति जारी गर्दै कलाकारलाई अनुसाहित हुन अपिल गरेको छ ।

साथै आफ्ना भनाइ राख्दा कलाकारहरूलाई संयमता अपनाउन र बिचार पुर्याएर बोल्न मात्र अनुरोध गरेको छ । संघका अध्यक्ष रवीन्द्र खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

केही दिनयता नेपाली चलचित्रमा आएका विभिन्न विवादलाई आरोप–प्रत्यारोपभन्दा पनि आपसी वार्ताबाट हल गर्न आग्रह गरेका छन् । अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको विवादबारे संघको ध्यान आकर्षण भएको र संघमा भुवन केसीले न्यायका लागि निवेदन दिएको जानकारी गराउँदै त्यसबारे सहजिकरणको भूमिका निर्वाह गर्ने पनि उनले बताएका छन् ।

कोरोना संक्रमणको महामारी प्रारम्भ भएदेखि सबै क्षेत्र जस्तै चलचित्र क्षेत्र पनि ठप्प भएको अवस्थामा संघले विभिन्न कलाकारलाई सहयोग गरेको पनि विज्ञप्तिमा उल्लेख छ । कलाकारका कुनै पनि समस्या भए तत्काल संघमा सम्पर्क गर्न तथा निवेदनमार्फत जानकारी गराउन पनि अध्यक्ष रवीन्द्र खड्काले अनुरोध गरेका छन् ।

नेपाल चलचित्र कलाकार संघ चलचित्र कलाकारहरूको वर्गीय हकहितका साथै चलचित्रको संरक्षण संवद्र्धनमा स्थापना संस्था भएकाले पनि उनले बताएका छन् । साम्राज्ञीसँगै, अभिनेत्रीहरु बर्षा राउत, पूजा शर्मा, दीपाश्री निरौलालगायतको अन्तर्वार्ता विवादजस्ता कुरामा संघको ध्यानाकर्षण भएको हो ।

अध्यक्ष खड्काले विज्ञप्तिमार्फत भनेका छन्,‘केही दिनयता सामाजिक सञ्जालमा नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारहरूको सम्बन्धमा विभिन्न कुरा आएको र कलाकार स्वयं पनि विभिन्न आरोप–प्रत्यारोपमा संलग्न देखिएकाले नेपाल चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको छ ।’

‘तर, हाल केही चलचित्र कलाकारको आपसी विवाद र आक्षेप सन्र्दभमा पनि संघले प्रचारमा आएका सबै कलाकारहरूसँग सम्पर्क गरेको छ । वार्ताद्वारा समस्या समाधान गर्न आह्वान पनि गरेको छ र कतिपयले संघको कार्यालयमा आएर जानकारी पनि गराउनुभएको छ,’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘वर्तमानमा निस्किएका आक्षेप एवं समस्या पटाक्षेप र समाधान गर्न संघ क्रियाशील रहेको पनि यसै वक्तव्यमार्फत जानकारी गराउन चाहन्छौं । लकडाउनका कारणबाट उत्पन्न समस्या एवं पारिश्रमिकका कुरालगायतका अन्य विवादलाई संघलाई जानकारी गराउनुहोस् र हामी समाधानतर्फ क्रियाशील रहन्छौं भन्दै संघले सदस्य कलाकारहरूलई आह्वान गर्दै आइरहेको छ ।’