विवाह, मृत्युमा १५ जना मात्र उपस्थित अनुमति


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ असार

केही दिन यताबाट नेपालमा कोरोना सँक्रमण ह्वात्तै बढ्नुका साथै कोरोनाबाट मृतकको सँख्या पनि थपिँदै गएपछि नेपाल सरकारले फेरी केही कसिलो गर्न लागेको छ । यसै क्रममा गृह मन्त्रालयले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै खुकुलो बन्दाबान्दीमा केही कडाई गरेको छ ।

पछिल्लो समय विवाह, मृत्यु संस्कार, भेटघाट, विभिन्न कार्यक्रममा मानिसको जमघट बढेपछि अब यस्ता कार्यक्रममा सामाजिक दुरी कायम गर्दै १५ जना भन्दा बढी भेला हुन नपाईने जनाएको छ । कन्तिमा २ मिटरको दुरी कायम गर्दै मास्कको प्रयोग गरेर मात्र १५ जना भेला हुन पाउने मन्त्रालयले जनाएको छ । यस अघि २५ जनासम्म भेला हुन पाईने नियम थियो ।

यस्तै कुनै पनि उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माणमा भिडभाड बढ्न थालेपछि यस्ता कार्यक्रममा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने नियम पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।

हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न पनि भनिएको छ । कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवतजावत गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि गृहले भनेको छ ।
ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन मन्त्रालयले निर्देशन दिएको छ । साथै सुरक्षमा खटिएका सुरक्षा अधिकारीहरुलाई पनि उच्च सावधानी अपनाउन भनिएको छ ।

 

 

अहिलेको अबस्थामा सुरक्षा सतर्कता अपनाउन अनुरोध सहित गृह मन्त्रालयले राति १० देखि बिहान ५ बजेसको समय नागरिकलाई हिँडडुलमा रोक लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।