भारत र चीनको सिमा बिबादबारे कठमाडौंमा मानव अधिकारबादीको प्रदर्शन


सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असार

भारत र चीन सीमामा दुई देशका सैनिकबीचको दोहोरो द्धन्द्धमा २० भारतीय सैनिकको मृत्यु भएको छ । उनीहरुको राष्ट्रिय सम्मानबीच अन्त्यष्टी पनि भएको छ । यो द्धन्द्धले भारत र चीनको सम्बन्ध फेरी चिसिएको छ । भारत चीन सीमामा भएको भिडन्तमा मानवीय क्षति भएको यो ४५ वर्षपछि हो । भिडन्तमा भारतीय एक सैन्य अधिकारी र १९ सैनिक जवानको मृत्यु भएको हो ।

भारत र चीनबीच अब शान्ति हुनुपर्छ भन्दै नेपालमा मानवअधिकारबादीहरुले प्रदर्शन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजले आज काठमाडौंको लौनचौर स्थित भारतीय दुतावास र बालुवाटार स्थित चिनियाँ दुतावास अगाडि प्रदर्शन गरेको हो । उनीहरुले दुई देशबीच शान्तिको आह्वान सहित आपसमा युद्ध त्यग्न प्रदर्शन गरेका हुन् । चीन र भारतको सिमा बिबादमा भारतीय सैनिकको ज्यान जानु मानव अधिकारको विरोधी कार्य भएको सो समाजका सभापति उत्तम पुडासैनीले बताएका छन् ।

दुबै देशको दुतावास अगाडी आज समाजका तर्फबाट आधाघन्ट धर्ना दिईएको हो । सिमामा गोलाबारी नभएको तर २० जनाको ज्यान गएकोलाई मानवअधिकारबादीहरुले क्रुस हत्याको रुपमा लिएका छन् । त्यहाँ भएको धेरै कुरा लुकाईएको मानव अधिकार तथा शान्ति समाजका सभापति पुडासैनीको ठहर । अब दुबैपक्षले शान्तिपूण वार्ता गरेर सिमा समस्या सुल्झाउनु पर्छ भन्दै आफुहरुले दुबै पक्षको ध्यानाकर्षण गर्न आज दुतावास अगाडी शान्तिपूर्ण प्रदर्शन गरेको पनि उनले बताए । काठमाडौं सहित बुटबल, दाङ लगायतका स्थानमा आज शान्तिपूर्ण प्रदर्शन गरिएको पनि पुडासैनीले व्युटी न्युज नेपाललाई बताए । २० जना भारतीयको ज्यान जानेगरी भएको यो हमलाले भारत र चीनबीच बैमस्यता बढेकोमा पुडासैनीले चिन्ता व्यक्त गरे ।

उता चिनियाँ जनमुक्ति सेना यसअघिको लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेर भारतीय भूमिमा केही किलोमिटर भित्र आएपछि तनाव भएको भारतको दाबी छ । आफुहरुले राखेको अस्थाई क्याम्पमा आएर भारतीय अफिसर सहितका जवानले हातपात गरेपछि चिनियाँ सेनाले प्रतिरक्षा गरेको चीन पक्षको दाबी छ । भारतीय सैनिकहरू चिनियाँ सीमा पार गर्दै घुसेपछि चिनियाँ सैनिकसँग झडप भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

गोलाबारुद बिना कसरी २० जनाको हत्या भयो भन्ने धेरैको जिज्ञासा छ । खासमा घटना यसरी भएको थियो । गलवान नदीको पूर्वतर्फ विवादित स्थानमा चीनले एउटा अस्थाई टेन्ट राखेको थियो । यो टेन्टभित्र चिनियाँ सैनिकहरु बस्ने गर्थे र लजिस्टिक सपोर्टको काम गरिरहेका थिए । भारतीय पक्षले सो टेन्ट हटाउन दबाव दिँदै आएको थियो ।

हेर्नुस भिडियो रिपोर्ट

गत १५ जून सोमबार राति ४ देखि ५ बजेको बीचमा बिहार रेजिमेन्टका कमाण्डिङ अफिसर कर्नेल सन्तोष बाबु आफ्ना केही सैनिकहरुका साथ सो टेन्टमा पुगे । उनले टेन्ट हटाएर सो स्थान खाली गर्न चिनियाँ सेनालाई चेतावनी दिए । तर, चिनियाँ सेना सो ठाउँ छोड्न तयार भएन । दुई पक्षबीच विवाद बढ्यो, धक्कामुक्की सुरु भयो । यस क्रममा भारतको बिहार रेजिमेन्टका कमाण्डिङ अफिसर सन्तोष गम्भीररुपमा घाइते भए । घाइते कमाण्डरलाई अन्य सैनिकले त्यहाँबाट उद्धार गरेर उपचारका लागि बेस क्याम्पमा पुर्याए । कमाण्डर घाइते भएपछि भारतीय सैनिकहरुको मनोबल गिर्यो । दुवैतर्फ सैनिहरु थपिँदै गए । धक्कामुक्की र ढुंगा हानाहान भयो । आधिरातसम्म उनीहरु लडिरहे ।

भिडन्त भएको स्थान भौगोलिकरुपमा अलि विकट र साँघुरो थियो । धेरै सैनिकहरु भिरबाट चिप्लिएर तल गलवान नदीमा खसे । गलवान नदीमा खसेकाहरु हाइपोथर्मियाको शिकार भए, किनकि नदीमा पानी चिसोले जमेको थियो । भिडन्त रोकिएपछि भारतीय सेनाले गलवान नदीमा खोजी कार्य सुरु गर्यो र त्यहाँ डुबेका जवानहरुलाई निकाल्यो । उनीहरुमध्ये धेरैको मृत्यु भइसकेको थियो । यसरी त्यहा घटना भएको बताईएको छ ।

यो घटना पछि लद्दाकको सो क्षेत्रमा भारत र चीन दुबै पक्षले सैनिक बढाएका छन् । भारतका मृत शैनिकहरुलाई दिल्लीमा श्रद्धाञ्जली अर्पण गरेर परिवारको उपस्थितिमा मृतक सैनिकको अन्त्यस्टी गरिएको छ ।

बिगतमा सीमा क्षेत्रमा दुई देशका सैनिक अधिकारी बिनाहातहतियार हिँड्थे । उनीहरू विवाद हुँदा धकेलाधकेल र मुक्का हानाहान मात्र गर्थे । हतियार नै चलाउने अवस्थामा पुगेका थिएनन् । तर, पछिल्लो केही सातादेखि दुई देशका सैनिकबीच सीमाको विषयलाई लिएर विवाद चर्किएको थियो । भूमिको विवाद चलिरहेका बेला वार्ता र संवादबाट हल गर्ने विषयमा धेरैपटक छलफल भए पनि दुई पक्षबीचको अडान मिल्न सकेको थिएन ।

पछिल्लो समय चीनका राष्ट्रपति सि चिनफिङले आफ्ना सेनालाई युद्धका लागि तयार रहन भन्दै सबैलाई एलर्ट हुन आदेश दिएका थिए । चीनमा सी चिनफिङले सत्ता सम्हालेपछि एक कदम पछि हट्ने र दुई कदम अघि बढ्ने रणनीति तय गर्दै सन् १९७५ पछि पहिलोपटक सिमा क्षेत्रमा भारतीय सेनाको ज्यान गएको हो ।

भारत स्वतन्त्र भएपछि सन् १९६२ मा चीन—भारतबीच युद्ध भएको थियो । सो युद्ध चीनले जितेको थियो । त्यसपछि भारत र चीनबीच यसअघि सन् १९७५ मा वास्तविक नियन्त्रण रेखा (एलएसी)मा चिनियाँ पक्षको एम्बुस आक्रमणमा भारतीय सैनिकको ज्यान गएको थियो । यस्तै, दुई पक्षबीच सन् १९६७ मा भिडन्त भएको थियो । सन् १९७५ मा अरुणाञ्चल प्रदेशको एलएसी क्षेत्रमा पट्रोलिङमा रहेको भारतीय फौजमाथि चिनियाँ पक्षले एम्बुस प्रहार गरेको थियो । त्यसअघि सन् १९६७ मा नाथु ला क्षेत्रमा दुई देशका सेनाबीच भिडन्त भएको थियो ।