ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असार,

नेपालमा कोरोना सँक्रमित थप एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो । उनको कोरोना सँक्रमण पुष्टी हिजो मँगलबार साँझ मात्र भएको छ ।

उनको मृत्युसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या २० जना पुगेको छ । अहिले अधिकाँसको मृत्यु भएपछि कोरोना सँक्रमण पुष्टी हुँदै आएका छ । यही कारण पनि सरकारलाई कोरोनाबाट जनतालाई बचाउन नसकेको आरोप लागेको हो ।

बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी यी महिलाको पनि मृत्यु भएको दोश्रो दिनमात्र कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङका अनुसार ती महिला निमोनियाबाट पीडित थिइन् । स्वास्थ्य गम्भीर हुँदै गएपछि ३० जेठमा उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको १ असारमा निधन भएको हो ।