दाङका एक जोडीले क्वारेन्टाईनमै गरे विवाह


ब्युटी न्युज नेपाल
नेपालगञ्ज २ असार

केहि दिन अघि भारतको नयाँ दिल्लीबाट आएका दाङका एक जोडीले क्वारेन्टिनमै विवाह गरेका छन् । उनीहरुको भारत बसाईको क्रममै प्रेम सम्बन्ध स्थापित भएको थियो ।

घोराही १८ का कृष्ण ओली र तुलसीपुर ५ कि सिता चौधरीले घोराही १८ स्थित क्वारेन्टिनमै आईतबार विवाह गरेका हुन् । उनीहरु प्रेम सम्बन्धमा रहेकाले स्थानीय वडा अध्यक्ष भरत अर्यालले विवाह गराई दिएका हुन् ।

उनीहरुको विवाहमा परिवारका सदस्यहरु समेत सहभागी थिए । जेठको पहिलो साता भारतबाट आएका उनीहरु एउटै क्वारेन्टिनमा बस्दै आएका थिए । कोरोना सँक्रमणका कारण मन्दिरमा प्रवेश गर्न रोक लगाईएपछि उनीहरुको विवाह बरपिपललाई साक्षी राखेर क्वारेन्टाईनमै गरिएको छ । विवाहको मन्त्रोच्चारण सहित पण्डितले गर्ने सबै विधी आफुले गरिदिएको पनि वडा अध्यक्ष अर्यालले बताएका छन् ।

विवाह भएकै दिन वेहुला र वेहुली दुबैका कोरोनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाईनमा विवाह गरेका यी जोडीको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सोही रात घर फर्किएका छन् ।