ब्युटी न्युज नेपाल
काठमाडौं, २ असार

यसअघि ‘लकडाउन’, ‘राहत’, ‘घर’, ‘बसाइँ’ र ‘नाम्लो’जस्ता छोटा चलचित्र दर्शकमाझ ल्याइसकेको नेत्र इन्टरटेन्मेन्टले यतिबेला चलचित्र सत्कर्म निर्माण गरेर दर्शकमाझ ल्याएको छ । युट्युब च्यानलबाट यो लघुफिल्म रिलिज गरिएको हो । यसलाई दर्शकले रुचाएका छन् ।

जसमा सञ्चारकर्मी रेम विक मुख्य भूमिकामा छन् । उनीसँगै यो लघु चलचित्रमा विजयराज अधिकारी, राजेन्द्र अधिकारी ‘अपूर्ण’, साधना शर्मा, सविता कर्माचार्य, भरत छन्त्याल, सविन गायकलगायतको मुख्य भूमिका छ ।

यो लघु चलचित्रमा निर्माण पक्षले अहिले आपत् परेको बेला जेजसरी हुन्छ, सहयोगी भएर प्रस्तुत हुन अपिल गरेको छ । यो चलचित्रको कथामा पनि लकडाउनको समयमा समस्यामा परेकालाई सहयोग गरिएको देखाइएको छ । यस्तो समयमा सहयोग गर्ने समूहको कथा यो सर्ट फिल्ममा हेर्न पाइन्छ ।

यो लघु चलचित्रलाई नेत्र गुरुङले निर्देशन गरेका हुन् । अघिल्लो सर्ट फिल्म दर्शकले रुचाएपछि दर्शककै चाहनाबमोजिम अहिले यो चलचित्र निर्माण गरेको यी निर्देशकले बताएका छन् ।

यसको छायांकन प्रकाश गुरुङले गरेका हुन् । यो चलचित्रको कथा भने निर्देशक गुरुङले नै तयार गरेका हुन् । यसको सम्पादन पनि उनले गरेका हुन् । सत्कर्ममा रहेको गीतमा स्वर र संगीत जीवन सुनारको रहेको छ ।