कोरोनाले आज ६८ वर्षका १ व्यक्तिको मृत्यु, नेपालमा मृतक १५ पुगे


राष्टिय समाचार समिति
चितवन, २७ जेठ

नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहान उनको मृत्यु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनी नारायणी सामुदायिक अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा रहेका थिए । उनी दमका बिरामी हुन् । बिरामी गम्भीर भएकाले अस्पताल सार्ने-नसार्ने भन्दाभन्दै साँझ बिरामी सारिएको उनले जानकारी दिए ।

शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकामा सोमबार नतिजा आएको हो । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका ती व्यक्ति पहिलो हुन् । भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका हुन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताए ।

परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिने उनले जानकारी दिए । सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ३१० मध्ये ३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये २४ जनाले चितवनका विभिन्न ठाउँबाट स्वाब सङ्कलन गराएका थिए ।