चलचित्र विकाश बोर्ड अध्यक्षमा दयाराम दाहाल


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ जेठ

बिगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले दाहाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको बताईएको छ । यद्यपि आफुलाई अहिलेसम्म आधिकारिक पत्र प्राप्त नभएको निर्देशक दयाराम दाहालले बताएका छन् । उनी हालसम्म पनि चलचित्र विकाश बोर्डका सदस्यका रुपमा रहेका छन् ।

गत बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त दिने १० जनामध्ये तीनजनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो । जसमा मन्त्रालयले दाहालसँगै भुवन केसी र राजेश थापा (तीन जना) को नाम सिफारिस गरेको हो । गत ३१ बैशाख भित्र भुवन केसी, दयाराम दाहाल र राजेश थापासँगै भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले अध्यक्ष पदका लागि आवेदन दिएका थिए ।

१० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सोही समितिले मन्त्रिपरिषद समक्ष तीनजनाको नाम सिफारिस गरेको थियो ।

करिब तीन दर्जन चलचित्रमा निर्देशकीय भूमिका निर्वाह गरिसकेका दाहाल काभ्रेका हुन् । काठमाडौंको विशालनगर बस्दै आएका दाहाल बिगत तीन दशकदेखि नेपाली चलचित्रबृत्तमा क्रियशिल छन् ।