आज २०१ जनामा कोरोना, नेपालमा सँक्रमित २३०० पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ जेठ

आज नेपालमा २०१ जनालाई कोरोना भाईरस सँक्रमण भएको छ । यो सहित नेपालमा कोरोना सँक्रमितको सँख्या ठ्याक्कै २३ सय पुगेको छ । आज सँक्रमित २०१ जनामा १७९ जना पुरुष र २२ जना महिला रहेका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बताएका छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

डा. देवकोटाका अनुसार यो सहित आजसम्म नेपालमा कोरोना सँक्रमितको सँख्या २ हजार ३ सय पुगेको हो ।

काठमाडौंमा ३ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये एक काठमाडौं मेडिकल कलेज, सिनामंगलका चिकित्सक हुन् भने दुई जना टोखा नगरपालिकाकी २१ र २७ वर्षकी महिला हुन् । यस्तै, सिन्धुपाल्चोक इन्द्रवतीका २३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को ताप्लेजुङ, पाँचथर र तेह्रथुममा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । ताप्लेजुङको शान्ति गाउँपालिकाकको क्वारेन्टिनमा रहेका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरू १८ देखि ४० वर्षीय पुरुष हुन् । यस्तै, पाँचथर हिलेहाङ गाउँपालिकाका २० वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

तेह्रथुमको आठराई गाउँपालिकाको क्वारेन्टिनमा रहेकी २० वर्षीया महिला र धनकुटा शहीदभूमि गाउँपालिकाका २७ वर्षीेय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापाको बुद्धशान्ति गाउँपालिकाका ३० वर्षीय पुरुष र कमल गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ वर्षीय पुरुषको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङको रंगेली नगरपालिकाको क्वारेन्टिनमा रहेका २६ र ३६ वर्षका दुई जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुनसरीमा ८ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ७ जना भोक्राह गाउँपालिकाको क्वारेन्टिनमा रहेकाहरू हुन् । यस्तै, बराहक्षेत्रको क्वारेन्टिनमा रहेका २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पर्सामा ७ जना संक्रमित थपिएका छन् । रौतहटको जनता मा.वि. पटरिया क्वारेन्टिनमा रहेका ७ जनामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक २७ वर्षकी महिला छन् भने अरू १० जना २२ देखि ५० वर्षका पुरुष हुन् ।

यस्तै, सर्लाही १५ जना संक्रमित थपिए । श्रीरामविलास प्रा.वि., बैरिया र जनता मा.वि., हरकटवा क्वारेन्टिनमा रहेका उनीहरूमध्ये एक ११ वर्षीया बालिका समेत छिन् । महोत्तरी मटिहानीका ९ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक ४० वर्षीया महिला छिन् भने अरू १५ देखि ३६ वर्षका पुरुष छन् ।सप्तरी तिरहुतका ४० वर्षीय पुरुष र धनुषाका ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

धेरै कोरोना संक्रमित भएको कपिलवस्तुमा थप ६९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूमध्ये मायादेवी र शुद्धोधन गाउँपालिकाको क्वारेन्टिनमा रहेका ६७ जना छन् । संक्रिमित हुनेमा ११ वर्षीया बालिकासहित १० महिला छन् भने एक वर्षका बालक र ८० वर्षका बृद्ध गरी ५७ जना पुरुष छन् । यस्तै, ओडरी मा.वि. क्वारेन्टिनमा रहेका दुई जना २४ र ३९ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा थप २७ जनामा संक्रमण देखिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र मर्चवार आदर्श माविको क्वारेन्टिनमा रहेका २६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा एक जना ४० वर्षकी महिला छिन् भने अरू सबै पुरुष छन् । यस्तै, मायादेवीका २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पाल्पामा २ जना संक्रमित थपिएका छन् । उनीहरू २८ वर्षीया महिला र २३ वर्षीय पुरुष हुन् । दाङमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । बगलाचुरी र राजपुरका उनीहरूमध्ये  ९ वर्षीय बालिका र २७ महिला छन् भने अरू १७ देखि २२ वर्षका पुरुष हुन् ।

यसैगरी, नवलपरासीमा ८ जनामा संक्रमण भेटिएको छ । पहलिनन्दन र बर्दघाट क्वारेन्टिनमा रहेका उनीहरू १७ देखि ३४ वर्षका पुरुष हुन् ।कालीकोटमा ७ जना संक्रमित थपिएका छन् । उनीहरू सबै महावैका हुन् र संक्रमित हुनेमा ४ वर्षका बालक समेत छन् । दैलेखमा ७ जना संक्रमित थपिएका छन् । ६ जना दुल्लु र नारायण नगरपालिकाको क्वारेन्टिनमा बसेका उनीहरू १७ देखि ३० वर्षका पुरुष हुन् भने अर्का एक नौमुलेका २४ वर्षीय पुरुष हुन् । प्युठानको मान्दवी गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू २० र २३ का पुरुष हुन् ।

सल्यानमा तीन संक्रमित थपिएका छन् । कुमाख गाउँपालिकको क्वारेन्टिनमा रहेका १९ र २४ वर्षीय पुरुष र कपुरकोटका २९ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

कैलालीका तीन जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये २० र २५ वर्षीय युवक कैलालीको गौरीगंगाका हुन् भने ५१ वर्षीय पुरुष धनगढी उपमहानगरपालिका–५ का हुन् । यस्तै, डोटीको पूर्वीचौकी–४ का २२ वर्षीय युवक र वडा नम्बर ७ का २५ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ६४ जिल्लामा कोरोना संक्रमित भेटिएको समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै आज १२ जना व्यक्ति कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । जनकपुर अस्पलताबाट ५ जना, टेकु अस्पतालबाट १ जना र शसस्त्र प्रहरी बल अस्पताल बलम्बुबाट १ जना र त्रिबिबी शिक्षण अस्पताल काठमाडौंबाट १ जना, बुटबलबाट ४ जना आज डिस्चार्ज भएका छन् । हालसम्म २७८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज भएकोमा २२२ पुरुष र ५६ जना महिला रहेका छन् ।