सप्तरीको झडपमा १५ व्यक्ति घाईट, अश्रुग्यास सहित ८ राउन्ड हवाई फायर


ब्युटी न्युज नेपाल
बिराटनगर, २१ जेठ

जग्गा सम्बन्धि आपसमा गाउँलेहरुबीच झगडा हुँदा सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार १५ जना घाइते भएका छन् । आज बिहान त्यहाँ दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रण गर्न आफुहरुले ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले बताएका छन् । सो क्रममा प्रहरीले अश्रुग्यास फायर गरेर भिडलाई नियन्त्रणमा लिएको छ । जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो ।

त्यहाँको स्थित बिग्रिएको अखर आएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजबाट प्रहरी टोली त्यहाँ पुगेको थियो । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।

भारतीका अनुसार प्रहरीले समयमा पुगेर त्यहाँको अबस्थालाई नियन्त्रणमा लिइसकेको छ । अहिले त्यहाँ सुरक्षाको लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको पनि प्रवक्ता भारतीले जानकारी गराएका छन् ।