ब्युटी न्युज नेपाल
काठमाडौ, २० जेठ

गायिका तथा सञ्चारकर्मी सरिता भारतीको स्वर रहेको गीत देशै रोयो कोरोनाले…लाई अहिले दर्शकले रुचाएका छन् । मुलुकमा आजसम्म २ हजार भन्दा बढीलाई कोरोना सँक्रमण भईसकेको र लकडाउनले मुलुक तहसनहस भएको बेला यो गीत समसामयिक बन्न सफल भएको छ । राष्ट्रिय भावनाले ओतप्रोत यो गीतको भिडियोलाई एक सातामै १६ हजार भन्दा बढी दर्शकले हेरिसकेका छन् । यो गीतमा चेतन गोतामे र गायिका सरिता भारतीलेसहकार्य गरेका छन् ।

गायक गोतामे गतवर्ष सम्पन्न गायन सम्बन्धि रियालिटी सो नेपाल लोकस्टारका रनरअप हुन् भने गायिका सरिता मोडल र मेकअप आर्टिसटसँगै ब्युटी न्युज नेपालकी समाचार सँयोजक हुन् । यसअघि आधुनिक, लोक, पप गीत बजारमा ल्याईसकेकी गायिका सरिता भारतीको यो राष्ट्रिय भावको गीत गीत हो ।

सरिता, चेतनसँगै यो गीतमा महेश बिक्रम पाण्डे र पुजा गुरुङको पनि स्वर रहेको छ । यो गीतको भिडियोमा गायक चेतन र गायिका सरिताले मुख्य अभिनय गरेका छन् । यी गायक गायिकासँगै अन्य २० जना भन्दाबढी कलाकारलाई यो गीतको भिडियोमा समेटिएको छ ।

गीतलाई सागर प्रधानले लेखेका हुन् । यो गीतमा संगीत पनि सागर प्रधानकै छ । उनको संगीत आफैमा मिठो छ । लकडाउनकै बेला यो गीत रेकर्ड गरिएको पनि गायिक सरिताले बताएकी छिन् । उनका अनुसार यो गीतको भिडियो पनि दुई दिन तयार गरेर रिलिज गरिएको हो । बिक्रम चौहानले निर्देशन गरेको यो भिडियोलाई राजकुमारले सम्पादन गरेका हुन् ।

गीतबारे गायिका सरिताले भनिन्,‘यतीबेला सारा विश्व कोरोना भाईरस (कोभिड १९) को महमारीमा रहेको बेला गीतकार सागरले समसामयिक शब्द संगीत तयार पारेपछि यो गीत बजारमा ल्याइएको हो । अहिले मुलुकमा कोरोना र त्यसले निम्त्याएका समस्यासँगै नेपालको सिमा भारतले मिचेको पीडालाई यो सन्देशमुलक रुपमा यो गीतमा समेटिएको छ ।’

मुलुकमा लकडाउन हटेपछि अब शम्भुजीत बासकोटाको संगीत रहेका आफ्नो एकल गीत ए राजा झट्टै बजाईदेउ बाजा…’ को भिडियो रिलिज गर्ने सरिताले बताईन् । डब्बु क्षत्रीको शब्द र जुगल डँगोलको संगीत संयोजनमा उनको यो गीत पनि रेकर्ड भईसकेको छ ।

आधा दर्जन म्युजिक भिडियो र एक दर्जन फेशन शोमा र्याम्प क्याटवाकको रुपमा मोडलिङ गरिसकेकी गायिका सरिता कुशल मेकअप आर्टिस्ट पनि हुन् । उनले यस अघि ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८ को शिर्ष उपाधिसमेत चुमिसकेकी छिन् । उनी चाँडै आफ्नो नयाँ गीतिसँग्रह निकाल्ने तयारीमा छिन् ।