ब्युटी न्युज नेपाल
बिराटनगर, १९ जेठ

गएराती सामान्य बिबादपछि युवाहरुबीच भएको झडपमा इटहरी २० तरहराका २८ वर्षीय राजन राईको हत्या भएको छ । छुरा प्रहार गरी उनको हत्या भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि गम्भीर घाइते भएका राजनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु प्रतिष्ठानले पुष्टि गरेको छ ।

राजन गत फागुनमा बेलायतबाट एक महिनाको बिदामा आएका थिए । केही सातामै युके जाने भिसा थियो । लक डाउनका कारण नेपालमै बसेका उनको हत्यामा सँलग्नहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठका अनुसार राजन राईकै घरमा तीनजना बसेर मादक पदार्थ सेवन गरेका थिए । त्यसपछि तीनजनाको समूह बजारमा निस्किएका थिए ।

जसमा ६ जनाको समूहबीच झगडा भएको सिसी टिभीको फुटेजमा देखिएको प्रहरीले बताएको छ । जसमा अनिल दाहाल, लक्ष्मण गुरुङ, अभिषेक पौडेल, अभिषेक केसी र प्रज्वल तामाङलाई झगडामा देखिएको छ । आपसमा जिस्किँदा जिस्कदै उनीहरुबीच बिबाद बढेको र छुरा प्रहार गरी राईको हत्या गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न करिब २० वर्षीय प्रज्वल तामाङले राजनलाई पछाडिबाट इटाले प्रहार गरेको प्रहरीले जनाएको छ । राजन भुईँमा लडेपछि छुरीले तीन–चारपटकसम्म प्रहार भएको प्रहरीको निश्कर्ष छ । प्रज्वलसँगै अभिषेक पौडेल, अभिषेक केसी र कृष्ण घिमिरे पनि घटनामा संलग्न थिए । उनीहरु अहिले फरार रहेकाले प्रहरीबाट खोजी कार्य भएको छ ।