थप २ जनाको कोरोनाबाट मृत्यु पुष्टी, नेपालमा कोरोनाबाट मृतक ८ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ जेठ

नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ८ पुगेको छ । हिजो शनिबार दैलेखमा १ जनाको र आज आईतबार बाजुरमा १ जनाको कोरोना सँक्रमणबाट निधन भएको हो । २ जनाको निधन हुँदा नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ८ पुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी गराएका छन् ।

दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएको दुल्लु–११ का ३५ वर्षीय पुरुषको कोरोना सँक्रमणको रिपोर्ट पोजेटिभ आएको पुष्टी भएको छ । उनका हिजो दिउँसो नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । उनी १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए । उनीसँग ७९ जना साथीहरु पनि आएका थिए । उनी नेपालका कोरोना सँक्रमणबाट मृत्यु हुने सातौं व्यक्ति भएको मन्त्रालयले पुष्टी गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको हो । उनको स्वाब तीन दिनअघि पठाइएको थियो ।

यता बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिकाको कोरोनाबाट आज मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोरोनाका कारणले मृत्यु भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ । उनी कोरोना सँक्रमणबाट मृत्यु हुने नेपालका आठौं व्यक्ति हुन् । यसरी नेपालमा कोरोना सँक्रमणबाट आजसम्म ८ जना नेपालीले ज्यान गुमाई सकेका छन् ।