ब्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

पछिल्लो समय बनजँगलमा शिकार कम पाईन थालेपछि बन्यजन्तुले गाउँ पसेर मानिसलाई दुखदिने गरेको छन् । यसै क्रममा पटक पटक चितुवाको आक्रमणमा परेका काठमाडौंका किर्तीपुरबासीले यसपटक भने चितुवालाई पासोमा पारेर बन्यजन्तु संरक्षकलाई बुझाएका छन् । कीर्तिपुर ४ चम्पादेवी क्षेत्रमा शुक्रबार आएको चितुवा नियन्त्रणमा‌ लिईएको हो ।

सो चितुवालाई स्थानीय हमाल तामाङले पासोमा पारेका हुन् । यस अघि उनको कुखुरा फार्ममा कुखुरा दिनदिनै घट्न थालेको थियो । बन्यजन्तुले कुखुरा खान थालेको जानकारी पाएपछि उनले पासोको आईडिया निकालेका हुन् । चितुवाले नै खाने गरेको आशंकामा उनले पासो थापेका थिए ।

बिहिवार राती ११ बजेतिर उनी सुतीरहेको बेला कुखुरा फार्मबाट चितुवा कराएको आवाज आयो । आफुले थापेको पासोमा चितुवा परेको उनले बुझे । त्यसपछि लगत्तै सुरक्षा निकायलाई खबर गरेका थिए । उनको घरमा पुगेर शुक्रबार बिहान वन विभाग, सदर चिडियाखाना र सुरक्षा निकायको टोलीले चितुवालाई नियन्त्रणमा लिएको छ ।

चिडियाखानाका विज्ञ राधाकृष्ण घर्तीको टोलीले तीनवटा सुई हानेपछि करिब आधा घन्टाको समयमा चितुवा लठ्ठिएको घरमालिक तामाङले बताए । उनका अनुसार त्यो करिब ५, ६ वर्षको भाले चितुवा अन्दाजी ५० केजी तौलको थियो । त्यसपछि चितुवालाई टोलीले जावलाखेल लगेको पनि उनले बताएका छन् ।