ब्युटी न्युज नेपाल
काठमाडौं, १६ जेठ

गायक सन्जीव पराजुलीले नयाँ गीतको भिडियो ल्याएका छन् । डान्सिङ नम्बरका गीत गाउन रुचाउने उनले ‘छैन मलाई पीर’ बोलको गीतको भिडियो ल्याएका हुन् । गीतमा दीपक शर्माको शब्द र संगीत छ ।

सन्जीवको स्वरमा रहेका गीतहरु ‘नाइँ मलाई थाहा छैन’, ‘किन कर्के नजर’, ‘हिट हिट गीत’लगायतका गीतहरु दर्शकले रुचाएका गीतमा पर्दछन् ।

यो गीतको भिडियोमा कुसुम गुरुङ, नाजिर हुसेन, गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगर फिचर्ड छन् । गीतमा मोहित मुनालले संगीत संयोजना गरेका हुन् ।

ग्रामीण परिवेशको लोकेसनमा छायांकन गरिएको गीतको भिडियोमा सन्जीव र नाजिरलाई दाजुभाईका रुपमा देखाइएको छ । एलिन श्रेष्ठ निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र लोकेश बज्राचार्यको कलर करेक्सन तथा सम्पादन छ । यो भिडियो गायक पराजुलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।