रेकर्डिस्टलाई पनि गायिका अन्जु पन्तको सहयोग


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ जेठ

बिगत ६६ दिन देखि मुलुकमा लगातार लकडाउन भएपछि अहिले सँगीत क्षेत्रमा कार्यरत प्राविधिकहरु पनि समस्यामा छन् । यसै क्रममा पछिल्लो पुस्ताकी व्यस्त गायिका अन्जु पन्तले काठमाडौंका विभिन्न रेकर्डिङ स्टुडियोमा कार्यरत रेकर्डिस्टहरुलाई सामाजिक दुरी कायम गर्दै खाद्यान्न सहयोग गरेकी छिन् । अन्जु यो लक डाउनमा निरन्तर सहयोगमा जुटेकी छिन् ।

गायिका अन्जु पन्तका अनुसार काडमाडौं उपत्यकामा रहेका विभिन्न रेकर्डिङ स्टुडियोहरु अढाई महिनादेखि बन्द छन् । यस्ता स्टुडियो रेकर्डिस्ट तथा प्राविधिकको रुपमा काम गर्नेहरुलाई निकै गाह्रो छ । एक सयजना भन्दा बढी यस्ता रेकर्डिस्ट प्राविधिहरु अहिले समस्यामा रहेकाले सबैलाई बिस्तारै आद्यान्न सहयोग प्रदान गर्दै जाने यी गायिकाले बताएकी छिन् ।

लक डाउन सुरु भएपछि विभिन्न ठाउँमा पुगेर खाना खुवाउने कार्यक्रम गर्दै आएकी गायिका अन्तु पन्तले आफ्नो सँस्था अन्जु पन्त फाउन्डेसनका तर्फबाट उनले सहयोग गर्दै आएकी छिन् । यो लक डाउनकै क्रममा आज सहित १२ पटक विभिन्न ठाउँमा पुगेर राहत प्रदान गर्नुका साथै खाना खुवाउने कार्य आफुले गरेको यी गायिकाले बताएकी छिन् ।

नेपालीचलचित्रको पाश्र्व गायनमा सबैभन्दा ब्यस्त मानिएकी गायिका अन्जुले आफ्ना गीतसँगीत रेकर्डिङमा समय खर्चने रेकर्डिङ प्राविधिकहरुका लागि सहयोग गर्न आफु इच्छुक रहेकाले अरुलाई पनि सम्पर्कमा आउन अनुरोध गरेकी छिन् । बिहिबार उनले अनामनगरमा १५ जना रेकर्डिस्टलाई खाद्यान्न सहयोग गरिन् । बाँकीलाई आफुले यो सहयोग घरमै पुर्याउने उनले बताएकी छिन् ।

सहयोग स्वरुप गायिका अन्जुले खाद्यान्नमा एक बोरा चामल सहित दाल, चिउरा, तरकारी, मस्यौरा, प्याज, मसला, नुन, तेल, चिनी, चियापत्ति, लगायतका सामग्री प्रदान गरेकी छिन् । आफ्नो यो सानो सहयोगले पनि उहाँहरुलाई केही सहज हुने विश्वास लिएको उनले बताएकी छिन् ।