बरिष्ट गीतकार रत्नशमशेरको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ जेठ

कैयौं कालजायी गीतका लेखक बरिष्ट गीतकार रत्नशमशेर थापा अब हामीमाझ रहेनन् । उनको आज मध्यान्न १२ बजे ८१ वर्षको उमेरमा निधन भएको छ । नर्भीक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारका सदस्यले जनाएका छन् ।

उनको स्वाब परिक्षणको लागि पठाईएकाले कोरोना सम्बन्धि रिपोर्ट आएपछि मात्र उनको पशुपतिमा अन्त्यष्टी गरिने परिवारले जनाएका छन् । आज बेलुका ६ बजेसम्म उनको कोरोना सम्बन्धि रिपोर्ट आउने आशा गरिएको छ । उनको पार्थिब शरीर अहिले अस्पतालमै रहेको छ ।  लक डाउनका कारण बाहिर निक्सन नसकेका कतिपय सँगीतकर्मीहरुले सामाजिक सञ्जालबाटै उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

नारायण गोपाल, तारदेवी, प्रेमध्वज प्रधानदेखि पछिल्ला पुस्तासम्मका कैयौं गायक गायिकाको स्वरमा गीतकार रत्नशमशेरका सैयौं चर्चित गीतहरु छन् । जसमध्ये ‘घुम्तीमा नआउ है’, ‘जाग लम्क चम्क हे नौ जवान हो’ ,’ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’,’बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा’ जस्ता कैयौं उनका कालजायी गीतहरु रहेका छन् । दिवँगत थापा साहित्यको छोटो बिधा मुक्तक लेखनको शैलीका कारण पनि लोकप्रिय थिए ।