काभ्रेमा ८० वर्षकै ठुलो बाढी, तीन जनालाई गरियो उद्धार, ठुलो क्षती  


ब्युटी न्युज नेपाल

काठमाडौं, १५ जेठ,

गएराती परेको अबिरल पानीले काभ्रेको रोशी–३ खहरेपाङ र भकुण्डे–६ खाक्सी भन्ने स्थानमा आएको बाढीले उदण्ड मचाएको छ । रोशी किनारमा बसेकाहरु धेरैको घरमा पानी पसेको छ भने कतीपयको त घर नै बगाएको छ । गएराती त्यहाँ बाढीमा फसेका ३ जनालाई सेना, प्रहरी र स्थानीय भएर उद्धार गरेका छन् ।

काभ्रेका एसपी रवी पौडेलका अनुसार ८० वर्षकै यताको ठुलो बाढी त्यहाँ आएको स्थानीयले बताए । उनले खाक्सीमा फसेकालाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले तथा खहरेपाङमा फसेका व्यक्तिलाई प्रहरी र स्थानीयबासीले उद्धार गरेको बताए । भकुन्डेसँगै बाढीले पनौती नगरपालिकामा पनि ठुलो क्षती पुर्याएको छ । बाढीले पनौतीको त्रिवेणीधाम क्षेत्रका केही मन्दिर समेत डुवानमा परेको छ ।

पनौतीमा धेरैको घर खेत, अन्नबालीमा क्षती पुगेको छ । पनौती क्षेत्रमा बाढीले एउटा टोयोटा गाडी बगाएको थियो । त्यसलाई प्रहरी र स्थानीयले बाढीबाट निकालेका थिए । गएराती त्यहाँको पुण्यमाता खोलामा आएको बाढीले तीनवटा पुल बगाएको छ भने केही घर डुबानमा परेका छन् । सयौं रोपनीको बालीसमेत बाढीले नष्ट गरेको छ । अहिलेसम्म क्षतीको विवरण आएको छैन ।