नवराज बिकको हत्या अनुसन्धानका लागि ५ सदस्यीय समिति गठन


ब्युटी न्युज नेपाल
काठमाडौं १३ जेठ,

आफ्नी प्रेमिका भगाउन गएका जाजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २० का नवराज विकको शब आईतबार बिहान भेरी नदिएमा भेटिएको थियो । रुकुम पश्चिम जिल्लाको चौरजाहारी वडा नम्बर ८, सोती निवासी मल्ल थरकी एक युवतीलाई भगाउन आफ्ना १९ जनासाथीसँग नवराज गएका थिए । उनका दुई साथीको शब पनि सोमबार भेरीमा फेला परेको छ । अरु १२ जनालाई गाउँलेले प्रहरी समक्ष बुझाए । अझै ३ जना हराईरहेका छन् ।

१० जेठ शनिबार बेलुका केटी भगाउने क्रममा गाउँलेले नवराज र उनका साथीहरुमाथि हमला गरेको बताईएको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सोमबार मृतक भेटिएका २ जनामा टीकाराम सुनार र गणेश बुढामगर रहेका छन् । यी तीन जनाको शबलाई अहिले पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ । जजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वेपत्ता रहेको र उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिने भएको छ ।

मृतकका परिवारले नवराज र उनका साथीहरुको शब बुझ्ना मानेका छैनन् । आफ्ना छोराहरुको हत्या भएको उनीहरुले दाबी गरेका छन् । हत्याराको कारवाही हुनुपर्ने माग पीडित पक्षको रहेको छ । अहिले पनि अस्पतालमा शबको पोष्टमार्टम हुन सकेको छैन ।

उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ,‘चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित प्रेम विवाह गर्ने तयारीमा रहेकी सुष्मा, उनका बुबा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्लका साथै अन्य आठ जनालाई पक्राउ गरिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।’ इलाका प्रहरी कार्यालय चौरजहारीका इन्चार्ज धर्मसिंह विष्टले बताएका छन् । यसैबीच रुकुमको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै सांसद चक्र प्रसाद स्नेहीले समग्र दलितसँग सम्बन्धित घटनाहरुबारे अध्यन गर्न संसदीय समिति गठनको माग राखेका छन् ।

यता सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको गरेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बताए । अहिलेसम्म हराईरहेकोहरुको खोजी गर्न भेरी नदिमा गोताखोर पठाईने पनि उनले बताए । घटनामा ३ जनाको ज्यान गएको छ र ३ जना बेपत्ता भएको पनि मन्त्री थापाले बताएका छन् ।