कोरोनाबाट नेपालमा चौथो मृत्यु, ४ जेठमा मृत्यु भएका बृद्धामा कोरोना पुष्टि


ब्युटी न्युज नेपाल
बीरगञ्ज, १२ जेठ

गत ४ जेठमा वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको निधनसँगै नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ४ पुगेको छ ।  नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायका अनुसार उनको कोरोना भाईरस (कोभिड १९) पोजेटिभ आएको हो ।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा उनको उपचारको क्रममा यही ४ जेठ राति मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले पनि आज दिउँसोको बुलेटिनामा ती बृद्धको मृत्यु भएको पुष्टी गरेका छन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार ति बृद्धको स्वाब काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो । त्यसअघि उनको स्वाब वीरगञ्जस्थित प्रयोगशालामा परिक्षण गर्दा सँकास्पद रिपोर्ट आएको थियो ।

मृत्युपछि आफन्तले उनको दाहसंस्कार धार्मिक रीति अनुसार गरेका थिए । काठमाडौंमा स्वाब परिक्षण गर्न केही दिन लाग्ने भएपछि अस्पतालले उनको शब आफन्तलाई जिम्मा लगाएको थियो ।

अहिले ती बृद्धमा कोरोना सँक्रमण पुष्टी भएपछि उनीको अन्त्यष्टीमा सहभागी भएकाहरुको पहिचान गरिँदैछ । अन्त्यष्टी सँलग्न आफन्त र उपचारमा सहभागी स्वास्थ्यकर्मीको पहिचान सहित स्वाब सँकलन गर्ने र उनीहरुलाई क्वारेनटाईनमा राखिने भएको छ । यसैबीच  नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी पनि भइरहेको छ ।