ब्युटी न्युज नेपाल
काठमाडौं, ९ जेठ

नेपाल सरकारले सोमबार पारित गरेको नेपालको नयाँ नक्सालाई अब नेपालको निसान छाप लगायत संविधानमा पनि समावेश गर्ने भएको छ । आज बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्त अर्थ, सञ्चार सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले सो विषयमा जानकारी गराए ।

मन्त्री खतिवडाका अनुसार सरकारले भारतसँगको सिमा विवादलाई तत्काल अन्तराष्ट्रियकरण नगर्ने पनि निर्णय गरेको छ । यो दुईदेश बीचको मामला भएकाले आपसमै मिलाउने निश्कर्षमा सरकार पुगेको छ ।

पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने,‘भारतसँगको सीमा विवाद तत्काल अन्तराष्ट्रियकरण गर्ने योजना छैन । त्यो भूमि हाम्रो हो । भूमिलाई उहाँहरुले स्वतः स्विकार्न हाम्रो प्रयास रहने छ ।’

मन्त्री खतिवडाले कार्यक्रममा बोल्दै अगाडि भने, ‘हामीले नक्सा जारी गरेका छौं । त्योसँग सम्बन्धित विवाद हुने विषय अहिले नै अन्तर्रा्ष्ट्रियकरण गर्नेबारे सोचेका छैनौं । अहिले हामीले मित्र राष्ट्रसँग वार्ता गरेर समाधान खोज्ने हो । कूटनीतिक तवरबाट समाधान ननिस्किए त्यसपछि अरू के गर्ने भन्ने कुरा हुन्छ।’

यस्तै संविधानको अनुसूची ३ लाई परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय आज बिहान बसेकोे मन्त्रिपरिषद् बैठकले गरेको पनि डा. खतिवडाले जानकारी गराए । सो अनुसची अनुसार नेपालको निसान छापमा रहेको नेपालको नक्सा पुरानोलाई हटाएर अब हालै पारित गरिएको नयाँ नक्सा राखिने छ ।