अमेरिकन आईडलको फाईनलमा नेपाली युवा दिवेश


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

आर्थर गनका नामले सँगीतकर्मीबीच परिचित नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको फाईनल अर्थात उत्कृष्ट ५ मा प्रवेश गरेका छन् । उनी उत्कृष्ट ५ मा पर्नासाथ फाईनलको लागि प्रतिस्पर्धामा पुगेका छन् । दिवेशलाई अमेरिकन आईडलमा जिताउन भोटिङ खुल्ला भएको छ ।

दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका छन् । उमेरको हिसाबमा उनीहरु १९ देखि २६ वर्षसम्मका छन् । उत्कृष्ट ७ अर्थात सेमिफाईनलबाट उनीहरु फाईनलमा प्रवेश गरेका हुन् । २२ वर्षीय दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिँदै आएको छ ।

काठमाडौंको रविभवनमा जन्मेका दिवेश उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन् । उनी क्याम्सस राज्यको विचिटामा आफ्नो परिवारसँग बस्छन् ।

कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । यो पटक पनि सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

उनले दर्जनौ नेपाली गीतहरु पनि गाएका छन् । विश्वभरी आफ्नो परिचय बनाउँदै गएका उनी अमेरिकामा सँगीत प्रस्तुतिसँगै अध्ययनमा ब्यस्त छन् ।