३ जनालाई कोरोना पोजेटिभ देखिँदा सँक्रमित १०२ जना पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ वैशाख,

नेपालमा कोरोना सँक्रमितको सँख्या १ सय नाघेको छ । बिहिबार २ जनामा र शुक्रबार १ जनामा कोरोना सँक्रमण देखिएपछि सँक्रमितको सँख्या १०२ जना पुगेको छ ।

बिहिबार राती मात्र कपिलवस्तुमा २ जनालाई कोरोना सँक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका दुईजना लकडाउनकैबीच भारतको मुम्बईबाट चार दिनअघि नेपाल प्रवेश गरेको पुष्टि भएको छ ।

कपिलवस्तुको मायादेवी गाउँपालिका ८ विजुवाका १६ र २२ वर्षका उनीहरू वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएको कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जबराले बताए । लुकीछिपी भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका उनीहरूलाई स्थानीयले मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए । दुई जनाकै थ्रोट स्वाबको परीक्षण भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । टेकुले उनीहरुमा कोरोना सँक्रमण भएको पुष्टी गरेको हो । कपिलवस्तुका संक्रमित दुई युवालाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालको आइसोलेसन बेडमा लगिएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा नेपालगञ्जका १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनी नेपालगञ्ज उपमहानगरपालिका ८ का हुन् । उनलाई शुक्रबार बेलुकाबाट आईसोलेसनमा राखिएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको हो । जसमा संक्रमित पुरुष ७४ जना र सँक्रमित माहिला २८ जना रहेका छन् । जसमध्ये २७ जना निको भएर घर फर्किएका छन् भने ३ जना पुन कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका छन् ।