ब्युटी न्युज नेपाल
झापा, २१ वैशाख 

यतीबेला कोरोना सँक्रमणको त्रासले धेरै निजी अस्पतालका चिकित्सकहरु उपचारका लागि सक्रिय हुन सकेका छैनन् । धेरै चिकित्सकहरु सोही कारण विदामा बसेका छन् । तर ओमसाई पाथीभरा हस्पिटलले आफ्नो हस्पिटलमा कार्यरत स्वाथ्यकर्मी तथा कर्मचारीलर्या यस्तो बेलामा काम प्रति प्रोत्साहन गर्न जीवन विमा गरिदिएको छ ।

हस्पिटलका निर्देशक बालकुमार पोखरेलका अनुसार सो अस्प्तालमा कार्यरत १४६ जना चिकित्सक, नर्स र कर्मचारीको एक बर्षे जीवन विमा अस्पतालले गरिदिएको छ । निजी क्षेत्रको हस्पिटलले आफ्ना स्वास्थ्यकर्मीका लागि कोरोना जोखिमका विरुद्ध विमा गराएको ओमसाई पहिलो भएको पोखरेलको दाबी छ । उनले कोभिड–१९ संक्रमणको त्रासको अवस्थामा समेत ज्यानको बाजी मारेर सर्वसाधारणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीसँग वैशाख २० गतेदेखि लागू हुनेगरी जीवन विमा गरिएको जानकारी दिए ।

विमामा भएको व्यवस्था अनुसार विमा अवधिमा कालगतिले मृत्यु भएमा रु. ५ लाख, कोरोना र अन्य दुर्घटनाबाट मृत्यु भएमा रु. १० लाख रकम परिवारका सदस्यले पाउनेछन् ।विमा वापत एक वर्षको रु. ३ लाख ८३ हजार विमा कम्पनीलाई भुक्तानी गरिएको र यसबाट कार्यक्षेत्रमा खटिने सबै स्वास्थ्यकर्मीको मनोवल बढ्ने उनको भनाई छ ।