२०७६ मा सिनेमा दिन नसकेका स्टार अभिनेता


ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौं, ६ बैशाख

नेपाली चलचित्र क्षेत्रका महँगा र स्टार भनेर चिनिएका अभिनेताहरुको चलचित्र रिलिज नै नभई २०७६ साल बित्यो । दर्शकलाई २०७६ सालमा महँगा अभिनेताहरु अनमोल केसी, प्रदीप खड्का, खगेन्द्र लामिछाने, सलिनमान बनियाँलगायतले एउटा पनि चलचित्र दिन सकेनन् । यी स्टार कलाकारका चलचित्र बिना पनि नेपाली सिने उधोगमा २०७६मा ५६ ओटा नेपाली चलचित्र रिलिज भए ।

बिबादमै बित्यो अनमोलको २०७६
सिनेकर्मीबाट मेघा स्टारको उपाधि पाएका महँगा अभिनेता अनमोल केसी हुन् । २०७६ सालमा अभिनेता अनमोलको ब्याचलर बन्टी र धुपौरे गरी दुई ओटा फिल्म आउने आशा गरिएको थियो आफु अनुबन्धित भएको निर्देशक मिलन चाम्सको फिल्म ब्याचलर बन्टीको कथा मन परेन भनेर गत वर्षको सुरुमै अभिनेता अनमोलले यो फिल्म छाडे । जसका कारण यो चलचित्रको छायाँकन नै भए । यसपछि गत असोजमा अर्को फिल्म धुपौरेमा अभिनेता अनमोल अनुबन्धित भए । यो फिल्मका मँसिरमा छायाँकन सुरु गर्नु अघि अनमोलले धुपौरेको स्कृप्ट मन परेन भन्दै यो चलचित्र पनि छाडे । उनी र धुपौरेको निर्माताबीचको बिबाद अहिले पनि टुँगिएको छैन । यसरी अनमोलले लगातार दुई ओटा फिल्म एक वर्ष भित्रै छाडेपछि उनको यी दुबै फिल्म रिलिज हुन नसकेका हुन् । यसपछि बल्ल उनी अर्को चलचित्र ए मेरो हजुर ४ मा अनुबन्धित भएका हुन् । यो चलचित्रको अहिलेसम्म ३० प्रतिसत मात्र छायाँकन भएको छ । एउटा चलचित्रबाट ५० लाख रुपैयाँ पारिश्रमिक लिन थालेका अनमोल केसी नेपाली चलचित्र उधोगका सबैभन्दा महँगा अभिनेताका रुपमा परिचित छन् । निकै चुजी हिरो मानिएका यी अभिनेताले यस्तै कारण २०७६ सालमा एउटा पनि चलचित्र आफ्ना दर्शकलाई दिन सकेनन् । अब उनको नयाँ चलचित्र ए मेरो हजुर ४ आगामी दशैंमा रिलिज हुने भएको छ । अनमोलकै गृह व्यानरमा अर्को चलचित्र पारस पनि निर्माण हुने भएको छ । यो चलचित्र मँसिर या फागुन मध्य एउटा मितिमा रिलिज हुने बताईएको छ ।

कोरोनाले रोक्यो प्रदीपको फिल्म


महँगा पारिश्रमिक लिने नेपाली चलचित्रबृत्तका अर्का स्टार अभिनेता हुन प्रदीप खड्का । उनले एउटा फिल्मबाट ४० लाख रुपैयाँ लिन थालेका छन् । अभिनेता प्रदीपको पनि २०७६ सालमा दर्शकमाझ चलचित्र आउन सकेन । अभिनेता प्रदीपले अभिनय गरेको पछिल्लो चलचित्र प्रेमगीत ३ गतसाता २८ चैतमा रिलिज हुने तयारी हुँदै थियो । तर मुलुकमा कोरोना भाईरसको सँक्रमण देखिन थालेपछि यी अभिनेताको चलचित्र प्रेमगीत ३ पनि रिलिज हुन सकेन । अब उनको यो चलचित्र आगामी भदौमा रिलिज हुने सँभावना रहेको छ । प्रदीपले २०७६ को लागि एउटा मात्र चलचित्र प्रेमगीत ३ खेलेका थिए । गएको वर्ष यो चलचित्रमार्फत दर्शकमाझ आउने उनको चाहना कोरोना सँक्रमणका कारण पुरा भएन ।

सिनेमा खेलेनन् सलिनमानले


निकै आशा गरिएका अर्का चकलेटी अभिनेता सलिनमान बनियाँको पनि २०७६ सालमा चलचित्र रिलिज भएन । उनको २०७५ को अन्तिममा चलचित्र यात्रा द भ्लग रिलिज भएको थियो । तर २०७६ सालमा उनले एउटा पनि चलचित्रमा काम गरेनन् । उनलाई नयाँ चलचित्रबाट प्रस्ताव आएको थियो । स्कृप्ट चित्त नबुझेपछि उनले काम नगरेका हुन् । यसरी महगो पारिश्रमिक लिने यी चार अभिनेताका एउटा पनि चलचित्र २०७६ सालमा रिलिज हुन सकेनन् ।

खगेन्द्रको अभिनयसँगै निर्देशनमा बढौती


एउटा चलचित्रबाट २५ लाख रुपैयाँ पारिश्रमिक माग गर्ने अर्का अभिनेता खगेन्द्र लामिछाने हुन् । चलचित्र पशुपति प्रसादको सफलतासँगै उनको पारिश्रमिक महँगिएको हो । २०७५ सालमा उनले ब्यबसायिक सफल चलचित्र जय भोले दर्शकलाई दिएका थिए । तर यी महँगा अभिनेताको पनि २०७६ सालमा एउटा चलचित्र पनि रिलिज हुन सकेन । यसरी अभिनेता खगेन्द्र लामिछानेले पनि २०७६ मा दर्शकलाई एउटा पनि फिल्म दिन सकेनन् । उनले यो वर्ष नयाँ चलचित्र पानीफोटो ल्याउने योजना बनाएका थिए । चलचित्र पानीफोटोका निर्माता निर्देशक र मुख्य अभिनेता पनि उनै थिए । मुलुकमा कोरोना सँक्रमण देखिएपछि चलचित्र उधोगको काम ठप्प भयो । जसका कारण यी अभिनेताको चलचित्र पानीफोटोको प्राविधिक कार्य सकिएको छैन ।