प्रधानमन्त्रीको आईटी सल्लाहकारबाट अलीलाई हटाउन कोईरालाको माग


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ चैत,

प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधिक सल्लाहकार असगर अलीको यतीबेला जताततै बिरोध भईरहेको छ । सरकारले चिनबाट मगाएको स्वास्थ्य सामग्रीमा अनियमिताबारे काठमाडौं प्रेसले छापेको समाचार ह्याक गरेर हटाएको भन्दै असगर अलीको लगानी रहेको कम्पनी सिरान टेक्नोलोजीलाई आरोप लागेको छ । यो आरोपपछि प्रधानमन्त्रीको सूचना प्राविधिक सल्लाहकारबाट अलीलाई हटाउन जताततैबाट आबाज उठेको हो ।

यसै क्रममा नेपाली काँग्रेसका तर्फबाट शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधिक सल्लाहकार असगर अलीलाई पदबाट बर्खास्त गर्न माग गरेका छन् ।

‘प्रधानमन्त्री ओलीले आफ्ना सूचना प्रविधि विज्ञलाई तुरुन्त पदबाट बर्खास्त गर्नुपर्छ र यो घटनामा संलग्न दोषीहरूमाथि कारबाही गरिनुपर्छ ।’ उनले विज्ञप्ति मार्फत माग गरेका छन्,‘संसारमै नहुने यस्तो बिरलै घटना प्रेस र अभिव्यक्ति स्वतन्त्रता हनन्को उच्चतम र निकृष्ट नमूना हो ।’

यता विभिन्न मिडियाका सम्पादकहरुले बिहिबार सँयुक्त बिज्ञप्ति जारी गर्दै काठमाडौं प्रेसमाथिको ठाडो हस्तक्षेपको निन्दा गरेका छन् । सरकार र केही निजी आईटी कम्पनीले नेपाली अनलाईनहरु ह्याक गरेर धमाधम बन्द गराएको भन्दै उनीहरुले सम्बन्धित दोषीलाई कारवाहीको माग पनि गरेका छन् ।