भ्रष्टाचार रोक्न नवलको प्रधामन्त्री ओली र अध्यक्ष दाहाललाई खुला पत्र


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ चैत

नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष एवम् अभिनेता निर्माता नवल खड्काले प्रधामन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई अहिलेको अबस्थामा भ्रष्टाचार रोक्न खुला पत्र लेखेका छन् । मुलुकमा कोरोना भाईरसको सँक्रमण बढेको बेला यो भाईरस रोक्न आत्याबस्यक सामग्री खरिदमा पनि भ्रस्टाचार र अनियमितता बढेपछि उनले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई सम्बोधन गर्दै यस्तो पत्र लेखेका हुन् ।

सम्माननीय प्रम ओलिज्यू साथै नेकपा अध्यक्ष प्रचण्डज्यू !
नमस्कार

सबभन्दा पहिला म मेरो सदिच्छा प्रकट गर्दछु– तपाईंहरु महामानव बन्नुहोस् ।
भ्रमण बर्ष स्थगित गरियो, भ्रष्टाचार बर्ष जारी छ भनेर सामाजिक सञ्जाल टनाटन छ। देख्नु भो होला सुन्नु भो होला । तर भ्रष्टाचारको प्यारामिटरले सगरमाथाको उच्चाई नाघी सक्यो, देख्नु भयो होला।

बिगतका भ्रष्टाचारमा देशको ढुकुटीमात्र लुट्थ्यो यसपटक त जनताको ज्यान लिनेवाला थियो । त्यो मिडियाको हस्तक्षेपका कारणले हुन पाएन । जनताहरुले लाठो देखाएपछि रद्ध गरियो । के कसरी भयो यहाँहरुले स्पष्ट त गर्नु भएको छैन तर हामी स्पष्ट नै छौं ।

नेपाली जनतामात्र होइन सिङ्गो मानवजाति नै अत्यन्त पीडा भएको बखत जुन भ्रष्टाचार भयो त्यसमा संलग्न हुनेहरु मानव हुन् जस्तो लागेन । राक्षसहरुमा त अलिकति विवेक हुन्छ । सारा विश्वका मानवजाति आफन्तहरु शवलाई दाहसंस्कार गर्न मलामी नपाएका वखत धन कुम्ल्याउनेलाई मानव जाति भन्न सकिदैन । तपाईंहरुलाई पनि यस्तै लागेको होला मेरो विश्वास छ ।

तर म निवेदन गर्दछु– यस्ता अमानवहरुलाई बालुवाटारमा पोसेर तथा धुम्वराही तथा पेरिस डाँडाले स्याहारेर राख्दा समाजवादको बाटो होइन पार्टी नै आर्यघाट तर्फ लाग्छ ।

हामीहरुलाई भनौं– अब पनि ती चोखा भनेर काखीमा बसिराख्नु भए तपाईंहरु प्रति जनताको पुरै मोहभङ्ग हुनेछ। इतिहासमा जुन भूमिका खेलेर आउनु भएको छ । ती सबै नामिटानामेट हुनेछन् । यस्तो हुँदा पनि तपाईंहरु दुवैबाट कुनै कदम नचालिनु दुखद छ ।

हामी चलचित्रकर्मीले बिशिस्ट प्रकारको सफल चलचित्र बनाउन अभिनयकला गर्छौ । तर तपाईंहरुले अभिनय होइन वास्तविक कार्य गर्नुपर्छ । हो कला पनि चाहिन्छ र चतुरता पनि चाहिन्छ तर जनसेवा कसरी गर्ने त्यसलाई कसरी जनहित हुने गरी गर्ने भनेर। तर किचेन क्याविनेटका पार्टीका केन्द्रीय नेताहरु नै नाङ्गो र संवेदनाहीन भ्रष्टाचारमा मुछिदाँ तपाईहरु शव्दजाल र मुक भएर बस्न मिल्दैन ।

त्यस्तो भ्रष्टाचारीहरुले नैतिकताले नै राजीनामा दिनु पर्ने थियो । के नैतिकता शेरबहादुर तामाङ्गमा मात्रै लागू हुने शव्द हो । यिनीहरुका लागि नैतिकता भन्ने शव्द थिएन । यसर्थ मेरो अनुरोध छ आसन भन्दा माथि र सन्तानमोह छाडेर तिनीहरुलाई कठघरामा उभ्याउनुहोस् ।

ती जनताका नजरमा कोरोनाभाइरसका कारणले ढलिसके ती अर्धमृतप्रति जनताको कुनै विश्वास छैन । तिनीहरुले सरकारका कुनै राम्रा कार्यबारे चर्चा गरे भने सामाजिक सञ्जालमा के कस्ता प्रतिक्रिया आउँछन् तपाईंहरुले हेर्नु भएको छ। तर टेर्नु भएको छैन ।

अब पनि टेर्नु भएन भने के हुन्छ? विश्वका कैयन भ्रष्टाचारीलाई के भएको थियो त्यही हुन्छ । ईतिहास साक्षी छ ।

आदरणीय नेतागण कैयन अलोकप्रिय शासक कसरी ढले भनेर पाठ सिकाउने दुस्साहस गर्दिनँ । मात्रै सम्झाउन खोजेको हुँ । तसर्थ समृद्ध नेपाल सुखी र खुसी नेपालीको नारालाई जनताको जनजीवनमा अभिब्यक्त हुनेगरी काम गरौं । भष्टाचार रोकौं । संविधान संसोधन गर्न सकिन्छ भने दुई तिहाईको सरकारले गरेर भष्टचारीलाई जीवन लिनेसम्मको सजाय दिऊँ । शाशक हैन, जनताको सेवक बनौ, थोरै समय बाँकी छ ।

हाँहरु माथि अझैपनि विश्वास रहेको निवेदन गर्दछु– यो यूगको मानव मात्रै हैन महामानव बनिदिनुस् । नेपालीको यहि चाहाना छ ।

नवल खडका
चलचित्रकर्मी