बागलुङकी ६५ वर्षीया महिलामा कोराना भाईरस सँक्रमण


ब्युटी न्युज नेपाल
काठमाडौं, २० चैत

बिहिबार फेरी नेपालमा थप १ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षीया वृद्ध महिला भएको बताए । योसँगै कोरोना भाइरसको संक्रमिकतको संख्या नेपालमा ६ पुग्यो ।

अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् । ती महिला गत ४ चैतमा कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको डा. विकास देवकोटाले जानकारी दिए । यही जहाजबाट नेपाल आएकी मैतीदेबीकी एक युवती र बागलुङकी अर्की युवतीलाई यस अघि नै कोरोना भाईरसको सँक्रमण देखिईसकेको छ । यो जहाजले १५८ जना यात्रु नेपाल ल्याएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहिबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् ।

सो पत्रकार भेटघाटका क्रममा देवकोटाले अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १ सय ८४ वटा नमूना परीक्षण गरिएको जानकारी दिए । ४३ वटा काठमाडौंमा र १२ वटा धरानमा नमूना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाब लिएको पनि उनले बताए ।