नवलपरासीमा हिजो डुंगा डुब्दा हराएका बालक अझै भेटिएनन


ब्युटी न्युज नेपाल
नवलपारासी २० चैत,

बुधबार साँझ पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ स्थित कालीगण्डकी नदीमा भएको डुंगा दुर्घटनामा हराएका एक बालक अझै भेटिएका छैनन् । बेपत्ता हुनेमा बुलिङ्गटार गाउँपालिका ३ बस्ने ११ वर्षीया ईशारा दरै रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार दुर्घटना भएर डुबेको डुंगामा चालकसहित ५ जना थिए । डुंगा एक्कासी पल्टिएर दुर्घटना भई नदीमा डुबेको कुरा उद्दार गरिएको मध्यकी नम्रता दरैले बताएकी छिन् ।

उनीहरु रिसिङबाट काठको डुंगामा आएका थिए । डुंगामा सवार तीन जनाको भने स्थानीयले सकुशल उद्दार गरेका थिए । बुलिङटार गाउँपालिका ३ बस्ने १२ वर्षका पूर्णिमा दरै, १३ वर्षीया नम्रता दरै र ११ वर्षीया सीमा दरैको स्थानीयको सक्रियतामा उद्दार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी सहित गाउँलेको टोलीले हराएका वालकको खोजी कार्य जारी राखेका छन् । सो डुंगालाई तनहुँको शिरकोट गाउँपालिका ४ बस्ने २० वर्षीया महोरपा मगरले चलाएका थिए । उनी पनि अहिले फरार छन् । प्रहरीका अनुसार तनहुँको रिसिङबाट काठको डुंगामा नदी पार गर्ने क्रममा डुंगा डुबेको हो ।