चिकित्सक, सुरक्षाकर्मीको सम्मानमा ताली अभियान 


ब्युटी न्युज नेपाल

काठमाडौं, १६ चैत 

यतीबेला विश्वमै कोरोना भाइरसको महामारी बढेपछि नेपाल सरकारको निर्णय अनुसार २५ चैतसम्म १५ दिनको लागि मुलुक लकडाउन घोषणा गरिएको छ ।

कोरोना भाइरसको महामारी बिरुद्ध मुलुकबासी होम क्वारेन्टाईनमा छन् । तर अग्रभागमा उभिएर स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु तथा संचारकर्मीहरु निरन्तर सेवारत छन ।

उनीहरु सबै जना नागरिकलाई स्वस्थ राख्न, सुरक्षित बस्न र सुसुचित रहन अहोरात्र खटिरहेका छन । उनीहरुले आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर सेवा दिईरहेका छन् । उनीहरुको आत्मबल बढाउन यही मँगलबार १८ चैत बेलुका ५ बजेबाट दुई मिनट घरमै बसेर ताली बजाउने कार्यक्रम घोषणा गरिएको छ ।

यी सबैको आत्मबल र आत्मविश्वास बढाउन तथा उनीहरुको यो साहसको सम्मानमा ताली बजाउने अभियान ‘क्ल्याप फर अ कज्’ अभियानको आह्वान गरिएको हो ।

यो अभियान अन्तर्गत आफू बसेको स्थान, आफ्नो घरको झ्याल, बालकोनी, कौसी आदि ठाउँबाट कोरोना भाइरस विरुद्ध हाम्रो स्वास्थ्य, सुरक्षा र सूचनाका लागि लडिरहेका स्वास्थ्यर्मी, सुरक्षाकर्मी तथा संचारकर्मीहरुको सम्मानमा दिल खोलेर ताली बजाएर उनीहरुको हौसला बढाउने आह्वान गरिएको छ । यो कार्यलाई गति दिनका लागि यही मंगलबार अर्थात् चैत्र १८ साँझ ५ बजेको समयमा दुई मिनेट सम्मका लागि आह्वान गरिएको छ ।

हाम्रो पात्रोसँगको सहकार्यमा युहान इन्टरनेसनल इभेन्ट्सको अग्रसरमा इभेन्ट म्यानेजर सानु खानले यस्तो आह्वान गरेका हुन् । यो कार्यलाई संभव भएसम्म आ आफ्नो फेसबुक पेज मार्फत् लाइभ गर्न पनि अनुरोध सँयोजक खानले आह्वान गरेका छन् ।

युहान इन्टरनेसनल इभेन्ट्स नेपालको परिवेशमा स्तरीय सौन्दर्य तथा मोडलिङ प्रतियोगिताको सफल आयोजना लागि कहलिएको संस्था हो । युहानले नेपालमा दर्जनौ इन्टरनेशलन इभेन्ट्सहरु गरिसकेको छ ।