ब्युटी न्युज नेपाल
काठमाडौं, १४ चैत

मनिष वशिष्ठको छोटो सिनेमा बाघ सार्वजनिक भएको छ । संगीतकार एवम् रचनाकारकार रुपमा परिचित मनिषले यो लघू फिल्मको कथा, स्क्रिप्ट तथा कन्सेप्ट तयार गरेका हुन् । लघू चलचित्र बाघमा जीवन भट्टराईको मुख्य भूमिका छ ।

सन्२०१३ मा नेपालको बर्दियामा रहेको एक ग्रामिण भेगमा एक नरभक्षी बाघले मच्चाएको आतंकसंग सम्बन्धित रहेर लघू चलचित्र बाघ निर्माण गरिएको हो । निकेश खड्काको निर्देशन तथा पटकथा रहेको सर्ट मुभी बाघमा होमीसाइडल सोम्नाबुल्जिमको बारेमा कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

होमीसाइडल सोम्नाबुल्जिम भनिने होमीसाइडल स्लिपवाकिङ वा स्लिपिवाकिङ मर्डर निन्द्रैमा हिड्ने बेला कसैको हत्या वा वध गर्ने एक डिसअर्डर हो । यसकै कथालाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । निन्द्रैमा हिड्ने बेला कसैको हत्या गर्ने घट्ना यदाकदा हुने भएकोले यसकै आधारमा सर्ट मुभी बनाइएको निर्माण टिमले जनाएको छ ।

बुद्ध लामाको सिनेमेटोग्राफी रहेको यो चलचित्रको सम्पादन रुपेश खड्का र ओम पौडेलले गरेका हुन् भने ग्राफिक्स ओम पौडेलले नै गरेका हुन् ।

लक्ष्मि बर्देवाको सहयाक निर्देशन रहेको लघू चलचित्रमा संगीत मनिष बशिष्टकै रहेको छ । करिब १३ मिनेटको यो लघू चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिईएकोछ । बाघलाई एमबी क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको होे ।