ब्युटी न्युज नेपाल
काठमाडौं, ३० फागुन

मुलुकमा कोरोना भाईरसको त्रास फैलिएपछि यसको प्रभाव चलचित्र प्रदर्शनमा पनि परेको छ । जसका कारण यो साता नयाँ नेपाली चलचित्र रिलिज भएन । ३० फागुनबाट रिलिज हुने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ कोरोना सन्त्रासकै कारण रिलिज स्थगित भयो । जसका कारण यो शुक्रबा नयाँ नेपाली फिल्म रिलिज नभएको हो । यसै क्रममा चलचित्र ‘आमा’ आजबाट चौथो हप्तामा प्रवेश गरेको छ । फागुणको ९ गतेबाट रिलिज भएको यो चलचित्रले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ ।

चलचित्रको निर्माणपक्षले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ–‘चौथो हप्तासम्म आइपुग्दा चलचित्रले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गर्न सफल भैसकेको छ ।’ कोरोनाको केही प्रभाव हलमा परे पनि नयाँ चलचित्र रिलिज नभएका कारण आमा प्रदर्शन भईरहेको निर्माण पक्षले जनाएको छ ।

निर्देशक दिपेन्द्र के खनाल र निर्मात्री शर्मिला पाण्डेले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘चलचित्रलाई देश तथा विदेशबाट प्राप्त भएको स्नेह र मायाको लागि सम्पूर्ण दर्शक, प्रदर्शक, वितरक, पत्रकार तथा समिक्षकहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छौ ।’

यस्तै, अहिलेको बिषय परिस्थितीमा पनि हलसम्म पुगेर चलचित्र हेर्ने दर्शकलाई निर्माणपक्षले धन्यवाद दिएको छ ।

मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई दर्शकले निकै रुचाएका छन् । विशेषगरि, चलचित्रको कथावस्तु, प्रस्तुतिलाई दर्शकले रुचाएका हुन् ।