फिल्म खबर वर्ष व्यक्ति र पत्रकारिता पुरस्कार घोषणा


ब्युटी न्युज नेपाल

काठमाडौं, २९ फागुन

फिल्मीखबर चलचित्र वर्षव्यक्तीका रुपमा यस पटक पुरुष तर्फ निर्देशक प्रदीप भट्टराई र महिला तर्फ गायिका मेलीना राई चयन भएको फिल्मीखबर साप्ताहिकले घोषणा गरिएको छ ।

फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा बिहिबार फिल्मीखबर चलचित्र वर्षव्यक्ती एवं फिल्मीखबर सबिन स्मृति रंग पत्रकारिता पुरस्कार घोषणा गरेको हो । सबिन स्मृति रंग पत्रकारिता पुरस्कार पत्रकार सुमन बैरागी पंडितलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

निर्देशक प्रदीप भट्टराई यतिखेर चर्चित टेलिभिजन रियालिटी शोमा निर्णायक रहेका छन् भने जात्रा सिरिजको नयाँ चलचित्र लेखन कार्यमा छन् । भट्टराईलाई क्रमश जात्रा, शत्रुगते एवं जात्रै जात्राको ह्याट्रिक सफलतासँगै यस वर्ष सफल चलचित्र जात्रै जात्राका आधारमा चयन गरिएको फिल्मीखबरले बताएको छ ।

त्यस्तै पाश्र्व गायन यात्राको पहिलो गीत चलचित्र नाइ नभन्नु ल – २ को कम्मरमाथि पटुकी…देखि निरन्तर रुपमा पाश्र्व गायनमा सफल मेलिना राईलाई यस वर्षको महिलातर्फको वर्षव्यक्तीमा चयन गरेको फिल्मीखबरले बताएको छ ।

चलचित्र गीत, आधुनिक एवं लोक गीत जताततै उनको व्यस्तता, सफलता, लोकप्रियतालाई आधार मान्दै मेलीना राईलाई चयन गरिएको फिल्मीखबरको कथन छ । यस्तै गतवर्षबाट फिल्मीखबर साप्ताहिकले वरिष्ठ रंग पत्रकार सबिन शाक्यको स्मृतिमा स्थापना गरेको फिल्मीखबर सबिन स्मृति रंग पत्रकारिता पुरस्कार यस वर्ष रंगपत्रकार सुमन वैरागीलाई प्रदान गरिने घोषणा फिल्मीखबरले गरेको छ ।

विगत डेड दशकभन्दा लामो अवधिदेखि रंग पत्रकारितामा सक्रिय रुपले संलग्न रही हाल उनि म्यूजिक खबर डटकम र म्यूजिक खबर पाक्षिकमा प्रधान सम्पादक रहेका छन् । रंग पत्रकारितामा सक्रियताको मूल्यांकन गर्दै फिल्मीखबरले फिल्मीखबर सवीन स्मृति रंग पत्रकारिता पुरस्कार प्रदान गर्ने जनाएको छ ।

वर्षव्यक्तीका लागि ट्रफी, प्रमाणपत्रसहित पुरस्कारहरु एवं रंग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र एवं नगद  ११ हजार ११ रुपैयासहित सम्मान, पुरस्कार प्रदान गरिने छ । वार्षिकोत्सवकै दिन कार्यक्रम गरी सम्मान एवं पुरस्कार प्रदान गर्दै आएकोमा यस पटक कोरोना प्रकोपका कारण केहि दिनपछि कार्यक्रमगरी सम्मन र पुरस्कार प्रदानगरिने फिल्मीखबर साप्ताहिकका सम्पादक शान्तिप्रियले बताएका छन् ।