ब्युटी न्युज नेपाल
काठमाडौं, २५ फागुन

सनीले २४ वर्षअगाडि ‘सनी’ नामक गीति एल्बम बजारमा ल्याएकी नायिका सनी रौनियार फेरी गायनमा फर्किएकी छिन् । ‘प्रेमपिण्ड’लगायत विभिन्न चलचित्रकी नायिका सनी रौनियारले ११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आइतबार आफ्नो स्वरमा नयाँ गीत ‘खुल्ला आकाश…’को भिडियो रिलिज गरेकी छिन् । गीतमा राजु सिंहको संगीत, विजय सिवाकोटीको शब्द छ ।

‘प्रेमपिण्ड’ सिनेमाबाट अभिनयमा डेब्यु गरेकी सनीले ‘सडक’, ‘सीता’, ‘दैव सञ्जोग’जस्ता चलचित्रमा नायिकाका रूपमा काम गरेकी छन् । उनी कुशल गायिका पनि हुन् ।

सार्वजनिक गरिएको गीतको भिडियोमा सनी आफंैले अभिनय गरेकी छन् । भुषण दाहालले निर्देशन गरेको भिडियोमा जीवन रिजालको छायांकन र भरत रेग्मीको सम्पादन छ ।

सनीले महिला सशक्तीकरणका बारेमा लेखेका गीत भएकाले नारी दिवसमा रिलिज गरेको बताएकी छन् । कौशल अधिकारी, विकास रौनियारले खिचेका फोटोले भिडियोलाई अझ सशक्त बनाएको छ ।

गीतले महिलाको पक्षमा प्रभावशाली बनेको छ । गीतबारे सनीले भनिन्,‘समजमा अझै पनि व्याप्त पुरुषप्रधान मानसिकताबीच महिलाको दृष्टिकोण र विचार बाहिर ल्याउनुपर्ने आवश्यकता महसुस गरें । यस गीतमार्फत महिलाको भित्री भावना उजागर गर्ने सक्दो प्रयास गरेकी छु ।’

सनीले अगाडि थपिन ‘मेरो गीत मेरो मनको नजिक छ, किनकि यसले महिला सशक्तीकरण र सामाजिक समानताको सन्देश दिन्छ । यो गीत नेपाली समाजका सबै महिलालाई समर्पित गर्छु, जसले आफूभित्र अथाह सम्भावना छन् र आफ्नो सीमा खुला आकाश हो भन्ने विश्वास राख्छन् ।’