चलचित्र ‘नीरफूल’ अब ७ चैतमा


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ फागुन

पत्रकार फूलमान वलले निर्माण निर्देशित गरेको चलचित्र ‘नीरफूल’ ३० फागुनमा आउने भनिएकोमा एक हप्ता सरेको छ । अब यो चलचित्र ७ चैतमा रिलिज हुने भएको छ । फिल्म ‘नीरफूल’को ट्रेलर मंगलबार सार्वजनिक हुँदैछ ।

फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ ।

यसअघि फागुन २३ मा रिलिज डेट तोकिएको ‘म यस्तो गीत गाउँछु–२’ हिन्दी फिल्म ‘बाघी–३’ आउने भएपछि ३० मा सारिएको थियो । त्यतिबेलै धेरैले ‘नीरफूल’ एक साता सर्ने अनुमान गरेका थिए ।

‘नेपाली फिल्म उद्योगमा आपसी सहकार्यको संस्कार विकास होस भन्ने हाम्रो चाहना हो’, निर्देशक वलले भने, ‘हातेमालो गरेर अघि बढे सबैलाई राम्रो हुन्छ ।’ भुकम्पमा परि विछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्षमा आधारित बताइएको छ ।

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल ले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् । राजेशपायल राई, दुर्गा खरेल र प्रमोद खरेलले स्वर दिएका छन् ।