भिडियोमा डा. श्रेष्ठको नयाँ गीत बैगुनी…


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ फागुन

डा.बुद्धिमान श्रेष्ठले पहिलो पटक गीत ‘बैगुनी…’ श्रोतामाझ आएको छ । कान्तिपुर डेन्टल कलेज धापासी बसुन्धराका डाइरेक्टरसमेत रहेका श्रेष्ठले गायिका मेलिना राईसँग यो गीत गाएका हुन् । डेन्टल कलेजकै हलमा एक कार्यक्रमको आयोजना गरी यो गीतको भिडियो सार्वजनिक गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका रमेश बिजीको प्रमुख आतिथ्यतामा प्रतिष्ठानकै पूर्व अध्यक्ष चन्द्र शर्मा लगायत गीतसँग सम्बन्धित स्रष्टाहरुले संयुक्त रुपमा गीतलाई सार्वजनिक गरियो ।

‘मैले स्कूल पढ्दाताका कार्यक्रमहरूमा गीत गाउँथे र मेरो गीतसंगीतमा गहिरो झुकाव थियो त्यसैले अहिले आएर गीत गाउने रहर पूरा गरेँ’, डा.श्रेष्ठले भने– ‘आजबाट गायनमा प्रवेश गरेको छु, मेरो पहिलो प्रयासलाई सबैले सुझावसहित माया गरिदिनुहुनेछ भन्ने आशा लिएको छु ।’

संगीतकार बादल घिमिरेको शब्द तथा संगीतमा तयार भएको लोक आधुनिक शैलीको ‘बैगुनी’ गीतमा डा.बुद्धिमान श्रेष्ठले स्वर भरेका हुन् । डा.श्रेष्ठले पहिलोपटक मेलिना राईसँग गाएको यो गीतको म्यूजिक भिडियो हेरिसकेपछि सबैले प्रशंसा गरेका थिए ।

कार्यक्रममा गीतका संगीत संयोजक कृष्ण भान्जा, म्यूजिक भिडियोका निर्देशक निकेश खड्का, कोरियोग्राफर सुरेन्द्र बसेल र संगीतकार बादल घिमिरेले गीत निर्माणको क्रममा भएका अनुभवहरु सुनाएका थिए । डा.श्रेष्ठसँग गाउने क्षमता भएको हुँदा गरौं न त भन्ने सल्लाह भयो तर नसोचेको उत्कृष्टता गायक श्रेष्ठले प्रस्तुत गर्नुभएको छ संगीतकार घिमिरेले भने ।

त्यस्तै कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष शर्माले आफूले पाएको अभिभावक डा.बुद्धिमान श्रेष्ठ राम्रो गायक भएको कुरा आजबाट प्रमाणित भएको बताए । उहाँको गायन क्षमता पहिले नै आउनुपथ्र्यो तर ढिला आए पनि राम्रो आएको बताए । त्यस्तै प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले गायक डा.श्रेष्ठको पुराना दिन औंल्याउँदै आफूहरुलाई गीतसंगीत क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने एक अभिभावक भएको बताए ।

यो गीतको म्युजिक भिडियोमा कलाकार केकी अधिकारी र सागर लम्सालले अभिनय गरेका छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोको कोरियोग्राफर सुरेन्द्र बसेल हुन् भने सम्पादन विकास धमलाले गरेका छन् ।