भारतमा मञ्चन भए ‘कुमारी एण्ड द बिस्ट’ तथा ‘महाभोज’


ब्युटी न्युज नेपाल
काठमाडौं, १० फागुन

भारतमा सम्पन्न भारत रँग महोत्सबमा यसपटक नेपालबाट दुई नाटक मञ्चन भए । भारतको नयाँ दिल्ली र देहरादुनमा मण्डला थिएटरको नाटक महाभोज र दिल्लीसँगै सिलोङमा सम्पन्न भएको भारत रंग महोत्सव थिएटर फेस्टिवल—२०२० मा नेपाली नाटक ‘कुमारी एण्ड द बिस्ट’ मञ्चन गरियो ।

नयाँ दिल्लीस्थित नेशनल स्कुल अफ ड्रामामा आयोजना भएको नाटक महोत्सवमा नेपालसहित विभिन्न देशका १० वटा नाटकहरु प्रदर्शन भएका थिए ।

मण्डला थिएटरको नाटक महाभोजलाई पनि यसअघि मण्डला थिएटरले काठमाडौं र बिराटनगरमा मञ्चन गरिसकेको छ । यो नाटकलाई अनुप बरालले निर्देशन गरेका हुन् । यो भारतीय नाटकलाई नेपाली भाषामा रुपान्तरण गरेर भारतमा लगेर यसपटक मञ्चन गरिएको हो । महोत्सबमा दर्शकले नेपाली कलाकारको अभिनयमा भारतीय नाटक महाभोज हेर्ने अबसर पाए । जसमा मण्डलाका कलाकार थिए ।

यस्तै नाटक ‘कुमारी एण्ड द बिस्ट’ काठमाडौंको सुशीला आटर््स एकेडेमीले मञ्चन गरेको हो । ‘कुमारी एण्ड द द बिस्ट’ नाटक काठमाडौंमा सन् २०१८ को अक्टोबरमा मञ्चन गरिएको थियो । यो नाटक जीवित देवी कुमारी तथा कुमारी प्रथासँग सम्बन्धित छ । यो नाटकले भने नेपालको इज्जत जोगायो । जसमा नेपाली कथा र स्वाद थियो । जबकी महाभोज भारतमा सैयौं पटक मञ्चन भएको भारतीय नाटक नै हो । जसमा नेपाली पन थिएन ।

‘कुमारी एण्ड द द बिस्ट’ नाटक ‘नेपाली अध्यात्मजगतको इतिहास’ पुस्तकबाट निकालिएको कथामा आधारित रहेको थियो । उक्त पुस्तक महेश्वर जुजु राजोपाध्यायले लेखेका हुन् । यो नाटकको लेखन तथा निर्देशन कविता श्रीनिवासनले गरेकी हुन् । यो नाटकमा अभिनय गर्नका लागि सुशीला आर्ट्स एकेडेमीका कलाकारहरु दिल्ली तथा सिलोङ पुगेका थिए ।