ब्युटी न्युज नेपाल
काठमाडौं, ७ फागुन

अभिनेत्री मिथिला शर्माले मुख्य नायिका, चरित्र नायिकामा पनि दिदी हुँदै आमासम्मको भूमिका निर्वाह गरेकी छिन् । यस अघि निर्वाह गरेको भूमिकाहरु मध्य उनलाई चलचित्र मँगलमको आमाको भूमिका साह्रै मन परेको थियो । यसपटक पनि आफु चलचित्र आमामा त्यत्तिकै प्रभावशाली भूमिकामा रहेको उनले ब्युटी न्युज नेपाललाई बताएकी छन् ।

हुन त मिथिलाले थुप्रै चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी छिन् । उनलाई चलचित्र मँगलमले आमाको भूमिकाबाट थुप्रै अवार्ड दिलायो । यसपटक चलचित्र आमाबाट पनि उनले त्यो आशा राखेकी छन् ।
चलचित्र आमा ९ फागुन शुक्रबारबाट मुलुकका थुप्रै सिनेमा हलमा एकसाथ रिलिजको क्रममा छ । यो चलचित्रमा छोराले घरको जिम्मेवारी छाडेपछि आमाको काँधमा आईपर्ने जिम्मेवारीलाई आफुले निर्वाह गरेको अभिनेत्री मिथिलाले बताएकी छिन् । चलचित्रको कथा अनुसार उनका पति अस्पतालमा कोमाको अबस्थामा हुन्छन् । त्यतिबेला उपचारमा आईपर्ने आर्थिक सँकट देखि पारिवारिक तनाबसम्मलाई उनले झेल्नु परेको छ । पतिको मृत्युपछिको सबै जिम्मेवारी आमाले नै निर्वाह गर्नु पर्छ ।

अभिनेत्री मिथिलाको भनाईमा मध्यम तथा तल्लो बर्गका एक सदस्य ठुलो रोगबाट ग्रस्त हुँदा पुरा परिवारकै आर्थिक अबस्था बिग्रन्छ । उनीहरुले हदैसम्मको पीडा भोग्नुपर्छ । यस्तै पीडामा चलचित्र आमाकी आमा सहितका पात्र गुज्रने गर्दछन् ।

एउटा आमाको परिवारप्रति जिम्मेवारी जीवनभर हुने सन्देश यो चलचित्रले दर्शकलाई दिने विश्वास यी अभिनेत्रीको छ । आमा र छोरीको सम्बन्ध पनि यो चलचित्रले देखाउँछ । सोही कारण यो पारिवारिक चलचित्रबाट आफु अहिले निकै आशाबादी रहेको पनि उनको कथन छ ।

आमालाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्र पशुपतिप्रसाद पछि निर्देशक खनाल आफैंलाई मन परेको चलचित्र पनि आमा नै हो । यो चलचित्र मुलुकका ८ दर्जन भन्दाबढी सिनेमा हलबाट रिलिज हुँदैछ । जसमा मिथिलाको छोरीको रुपमा सुरक्षा पन्त र श्रीमानको रुपमा देशभक्त खनाल छन् ।