सकियो निफ, बुलबुललाई ६ ओटा अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ फागुन

काठमाडौंको राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिनसम्म चलेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सोमबारबाट सकिएको छ । फेस्टिबलको अवार्ड समारोहमा विनोद पौडेल निर्देशित चलचित्र ‘बुलबुल’ले डबल हयाट्रिक अवार्ड जितेको छ ।

यो महोत्सबमा बुलबुलले नेपाल पनोरमाको फिचर तर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जितेको हो ।

बुलबुलबाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड र विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड जिते । त्यसैगरि जुरी अवार्ड अवार्ड पुरुष तर्फको अवार्ड मुकुन भुषालले र र महिला तर्फको अवार्ड लक्ष्मी बर्देवाले हाँसिल गरे ।
बुलबुललाई पछ्याउँदै ‘गोपी’ले तीन अवार्ड हातपारेको थियो । समारोहमा ‘गोपी’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड पायो भने फिल्मबाट बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । त्यसैगरि छायाँकार शेलेन्द्र डि कार्कीको छायांकनलाई जुरी अवार्ड प्रदान गरियो ।

कार्यक्रममा नेपाली सर्ट फिल्मतर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित जुनुको जुत्ताले पाएको थियो भने इन्टरनेसनल सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ले पायो । नेपाली सर्ट फिल्मतर्फको अवार्ड प्रविनकुमार राउत निर्देशित‘कलम’ले जितेको थियो भने प्रविन स्वयं पनि जुरीको नजरमा उत्कृष्ट ठहरिए । सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दिअदर हाफ’ले पाएको थियो ।

बहुपति प्रथाको कथा समेटिएको गणेश पाण्डे निर्देशित ‘को हस्बेन्ड’ डकुमेन्ट्री विधातर्फ उत्कृष्ठ ठहरिएको थियो । माउन्टएभरेस्ट अवार्ड नामदिएको यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको थियो ।

यहीवर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको स्प्रिट अफदि ड्रइङ गर्ल’ले पायो । मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर रहेको छ । अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीय फिल्म नुरी उत्कृष्ट मानिएको थियो । फिल्ममा भारत पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथापेश गरिएको थियो । बाग्मति अवार्ड नामदिइएको यो पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको छ ।

समारोहको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ले पायो । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर हातपार्यो । फिचर फिल्मतर्फका मुख्य जुरी प्रकाश झाले नेपालका फिल्मसँगको यो पहिलो साक्षात्कार भए पनि नेपाली फिल्मको न्यारेटिभ प्रतिस्पर्धात्मक बनिरहेको अनुभव गरेको बताए ।

उनले नेपालसँग फिल्मका जुनसुकै विधामा सहकार्य गर्न तयार रहेको पनि बताए, ‘काठमाडौं यो मेरो पहिलो खेप थियो तर अब आउने जाने गरिरहन्छु । सँगै सिनेमा सम्बन्धी जे कामका लागिपनि सहकार्यकालागि तयार छु,’ उनले भने ।