बिराजको साङलो एक्सन र कमेडी


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, २४ माघ

अभिनेता विराज भट्टको महत्वकाँक्षी चलचित्र ‘साङ्लो’ शुक्रबारबाट रिलिज भएको छ । यो चलचित्र मुलुकका करिब ९० ओटा सिनेमा हलबाट रिलिज भएको अभिनेता बिराज भट्टले ब्युटी न्युज नेपाललाई बताएका छन् ।

शुक्रबारबाटै विपिन कार्कीको चलचित्र सेल्फी किङ पनि रिलिज भएको छ । यी दुबै चलचित्रबीच राम्रो प्रतिस्पर्धा चलिरहेको छ । सिँगल थिएटरमा आफ्नो सिनेमाको व्यापार राम्रो भएको र मल्टीप्लेक्समा पनि राम्रै सोजहरु पाएको अभिनेता बिराजले जानकारी गराए ।

चलचित्र साङलोको निर्देशन बिराज भट्ट आफैंले गरेका हुन् । यो चलचित्र एक्सन प्रधान र प्रेम कथामा आधारित सामाजिक विषयबस्तुमा केन्द्रित रहेको बिराजले बताए । यो चलचित्रको निर्माता पनि बिराज आफैं हुन् । आफुलाई मन परेको बिषय बस्तु भएको र चलचित्रमा काम गरेको दुई दशकको अनुभवको आधारमा यो चलचित्र निर्देशन गरेको पनि बिराजले बताए । चलचित्रका मुख्य नायक पनि उनी आफैं हुन् ।

यो चलचित्रमा बिराजसँगै पूर्व मिस नेपाल निकिता चन्डक, प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, रमेशचन्द सोडोरी सहितका कलाकारको पनि मुख्य भूमिका छ । निकिताले नायिकाको रुपमा यो चलचित्रबाट डेब्यु गरेकी हुन् ।

बिराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्माण भएको ‘साङ्लो’लाई मानकृष्ण महर्जनले छायाँकन गरेका हुन् । यसको छायाँकन डोटी सहित मुस्ताङ, काठमाडौं, धनगढी लगायतका क्षेत्रमा गरिएको थियो ।

यो चलचित्रमा फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । जसमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत, शिबम अधिकारीको पटकथा तथा संवाद, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।