मल्टीप्लेक्समा सेल्फी किङको राम्रो माहौल


रिलिज चलचित्र

ब्युटी न्युज नेपाल
काठमाडौं, २४ माघ

चलचित्र ‘सेल्फी किंङ’ शुक्रबारबाट मुलुकका ६ दर्जन भन्दा बढी चलचित्र घरबाट प्रदर्शनमा आएको छ । फिल्मले मल्टिप्लेक्समा राम्रो ओपनिङ गरेको यसका निर्माता दिनेश राउतले बताएका छन् । यो चलचित्रको बुधबार बेलुका काठमाडौंमा गरिएको प्रिमियर शोमा राम्रो प्रतिक्रिया पाएको थियो ।

सँगै रिलिज भएको अभिनेता बिराज भट्टको फिल्म ‘साङ्लो’ले सिँगल थिएटरमा दर्शकको साथ पाएको बेला मल्टिप्लेक्समा सेल्फी किङले बढी दर्शक पाएको छ ।

यो चलचित्रमा शिर्ष भूमिकामा अभिनेता विपिन कार्की छन् । विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ । अभिनेत्री केकी अधिकारीले यो चलचित्रमा बिशेष भूमिका निर्वाह गरेकी छिन् ।

अभिनेता विपिन यसमा सेल्फी किङको भूमिकामा छन् । सेल्फी किङको नामले परिचित एक चर्चित हाँस्य कलाकार (टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्र सेल्फी किङमा समेटिएको छ । उनको काठमाडौं देखि सोलुखुम्बुसम्मको यात्रालाई निकै रोचक बनाईएको छ । विपिनको तीन दिनको यात्राको कथा यसमा प्रस्तुत गरिएको छ ।

कमेडी ड्रामा जनराको चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गरेका छन् । बिशालको यो डेब्यु चलचित्र हो । यो चलचित्रलाई बिशाल आफैंले लेखेका हुन् । उनी अमेरिकामा सिनेमा पढेर नेपाल फर्किएका हुन् ।

यसका निर्माता सुभाष थापा र दिनेश राउत हुन् । यस अघि निर्देशन गर्दै आएका दिनेशले यो चलचित्रबाट निर्माणमा हात हालेका छन् । सेल्फी किङमा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, निर्मल लामाको कोरियोग्राफी रहेको छ ।