ब्युटी न्युज नेपाल
काठमाडौं, २२ माघ

चलचित्र ‘आमा’ ९ फागुनबाट रिलिज हुने भएको छ । चलचित्रमा मिथिला शर्मा शिर्ष भूमिकामा छिन् । उनको छोरीको भूमिकामा नायिका सुरक्षा पन्त छिन् । चलचित्र ‘आमा’को ट्रेलरले दर्शकमा एक प्रकारको तरंग पैदा गरिसकेको छ । चलचित्रको कथा पनि आमा छोरीको सँघर्षमा आधारित छ । छोराबाट आस मारेका आमाहरुका लागि छोरी पनि छोरा जत्तिकै भरोसायुक्त हुन्छन भन्ने सन्देश यो चलचित्रले दिनेछ ।

शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । नेपाली चलचित्रले आफ्नै कथा भन्न सकेको छैन । ‘आमा’को कथामा दर्शकले आफ्नोपन पाउने विश्वास गरिएको छ । तथापि यो चलचित्रको व्यापार राम्रो हुनका लागि वर्ड अफ माउथमा भर पर्नुपर्छ । किनकी, यसमा नाम चलेका स्टार कलाकार छैनन् ।

मिथिला शर्मा र सुरक्षा पन्तको अभिनयले दर्शकलाई छुने विश्वास गर्न सकिन्छ । ट्रेलरले यसको झलक दिइसकेको छ । तर, हलसम्म पुगिसकेपछि मात्र दर्शकले यसको महशुश गर्न पाउनेछन् ।
चलचित्रमाथि भरोसा हुनुको मुख्यकारण, यसका निर्देशक खनाल हुन् । उनले निर्देशन गरेको चलचित्र ‘पशुपति प्रसाद’ले दर्शकमा उनीमाथि भरोसा गर्ने बलियो आधार खडा गरिदिएको छ । यसपछि, दीपेन्द्रले केहि कमर्सियल चलचित्र निर्देशन गर्ने सुर गर्दा लय विगारेका थिए । अहिले, उनी ‘आमा’बाट सोही लयमा फर्किएका छन् ।

दीपेन्द्र आफैले पनि चलचित्र ‘पशुपति प्रसाद’ हेरेर तृप्त बनेका दर्शकका लागि ‘आमा’ अर्को मन छुने चलचित्र हुने बताइसकेका छन् । यसैले पनि ‘आमा’को कथा र दीपेन्द्रको निर्देशनमाथि भरोसा गर्ने आधार छ ।