ब्युटी न्युज नेपाल
काठमाडौं, २० माघ

बिपिन कार्की, वर्षा राउत र दयाहाङ राईले यसअघि फिल्म ‘जात्रै जात्रा’ मा सँगै काम गरेका थिए । यी तीन कलाकार फेरी अर्को चलचित्र ‘के घर के डेरा’मा सँगै प्रस्तुत हुँदैछन् ।

सुव्रतराज आचार्यको निर्देशनमा चलचित्र के घर के डेरा निर्माण हुने भएको छ । पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा’ को नाम सापटी लिएर आचार्यले यो चलचित्र निर्देशन गर्न लागेका हुन् ।

सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले गर्ने फिल्मको औपचारिक निर्माण घोषणा गर्यो । यो चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायतका कलाकारको अभिनय रहनेछ ।

यसमा ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा छन् । त्यस्तै, यम प्रसाद ओली सह निर्मातामा रहेका छन् । चलचित्र ‘हरि’ का निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको फिल्मको कन्सेप्ट निर्माता सिंगे लामाको हो । सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ फिल्म निर्माण गरिसकेका छन् ।

काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने फिल्मको छायाँकारमा दिर्घवीर गुरुङ, सम्पादकमा मित्र डि. गुरुङ, सँगीतकारमा शंकर थापा ‘स्माइल’, कोरियोग्राफीमा गम्भीर विष्ट रहने छन् । फिल्मलाई रोहित रत्न (आरआर) ले वितरण गर्दैछन् ।

शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् ।

‘के घर के डेरा’ निर्देशक आचार्यको तेस्रो प्रोजेक्ट हो । यसअघि उनले ‘अर्धकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए भने दर्जनौँ हिट गीतको भिडियो समेत निर्देशन गरेका छन् ।