ब्युटी न्युज नेपाल
काठमाडौं, २० माघ

नेपाली चलचित्र बुलबुलले फ्रान्समा पब्लिक च्वाइस अवार्ड जितेको छ । फ्रान्समा ५ दिनसम्म चलेको साउथ एसियन फिल्म फेस्टिबलमा बुलबुलले पब्लिक च्वाइस अवार्ड जितेको यसका निर्देशक बिनोद पौडेलले बताए । आइतबार साँझ घोषणा भएको कार्यक्रममा फिल्मले अवार्ड पाएको पुष्टि उनले गरे ।

अभिनेत्री स्वस्तिमा खड्काका साथ फेस्टिभलमा सहभागी भएका पौडेलले तीन विधामा बाँडिने अवार्डमध्ये दुईमा भारतीय फिल्ममेकरले कब्जा जमाएको पनि जानकारी गराए ।

फिल्मको प्रदर्शनपछिको अन्र्तक्रियामा फिल्म हेर्ने दर्शकले फिल्ममा स्वस्तिमाको अभिनय र फिल्मको अन्त्य अत्यन्त मन पराएको पौडेलले बताए । ‘पुरुष फिल्ममेकरले महिलाको मनोविज्ञान कति मज्जाले उतारेको भनेर उनीहरुले तारिफ गरे । स्वस्तिमाको अभिनय र फिल्मको अन्त्य देखेर पनि उनीहरु प्रभावित भएका थिए । नेपालमा पनि राम्रा फिल्म बन्दा रहेछन् । अब खोजी खोजी हेरिन्छ भन्ने पनि उनीहरुको प्रतिक्रिया थियो ,’फ्रान्समा रहेका पौडेलले भने ।

बुलबुलले यसअघि नेपालकै दुई राष्ट्रिय अवार्ड र साकै फिल्म फेस्टिभलमा एउटा अवार्ड पाइसकेको छ । नेपालको राष्ट्रिय अवार्डमा अभिनेत्री र निर्देशन विधामा पुरस्कार जितेको फिल्मबाट स्वस्तिमा खड्काले सार्कमा जुरी अवार्ड हात पारेकी थिइन् ।
सो महोत्सबमा दक्षिण एसियाली फिल्मका बीच भएको प्रतिस्पर्धामा भारतकै टेकिङ दि हर्सेज टु इट जलेबीज दि अनामिका हसकरले स्टुडेन्ट जुरी अवार्ड र भारतकै मोथोन दि गितु मोहनदासले जुरी अवार्ड हात पारेका थिए ।