ब्युटी न्युज नेपाल
काठमाडौं, १७ माघ

लामो समयपछि अभिनेता दयाहाङ राई नाटकमा देखिने भएका छन् । यसै महिना नयाँ दिल्ली लगायत नेपालको विराटनगरमा मञ्चन हुने नाटक महाभोजमा दयाहाङ राई मुख्य भूमिकामा छन् ।

प्रदेश सरकार, प्रदेश नं. १ को सहयोगमा र स्थानीय आरोहण गुरुकुल अनि लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा मण्डला थिएटर नेपालले नाटक महाभोजलाई २२ र २३ माघमा प्रदेश १ को राजधानी बिराटनगरमा मञ्चन गर्न लागेको छ । मञ्चनको अभ्यास पुरा भएको नाटक प्रचार सँयोजक सोमनाथ खनालले जानकारी गराएका छन् ।

त्यसपछि यो नाटक भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालय (नेशनल स्कुल अफ ड्रामा) मा मञ्चन हुनेछ । नेशनल स्कुल अफ ड्रामाद्वारा हरेक वर्ष आयोजना गरिने एशियाकै प्रतिष्ठित अन्तर्रा्ष्ट्रिय नाट्य महोत्सव ‘भारत रंग महोत्सव २०२०’ मा यो नाटक छानिएको छ । सो महोत्सबमा जानुपूर्व नाटक महाभोजलाई बिराटनगरमा मञ्चन गरिने पनि खनालले जानकारी गराए ।

भारतीय लेखक मन्नु भण्डारीद्वारा लिखित नाटक महाभोज पछिल्लो समयको प्रशंसित नाटक हो । अनुप बराल निर्देशति नाटक महाभोजमा दयाहाङ राईसँगै रमेश बुढाथोकी, शेखर चापागाइँ, सृजना सुब्बा, बुद्धि तामाङ, बिजय बराल, विप्लव प्रतीकलगायतको अभिनय रहने छ ।