ब्युटी न्युज नेपाल
काठमाडौं, १३ माघ

सोमबार बिहान प्रहरीसँग भेटघाट गर्न काठमाडौंको महानगरिया प्रहरी परिसर टेकु पुगेकी गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । अभद्र ब्यबहार सम्बन्धि आरोपमा सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धानका लागि भनेर प्रहरीले आस्थालाई चार दिन हिरासतमा राख्दैछ ।

आस्थाका परिवारका अनुसार प्रहरीले कुराकानीको लागि भनेर बोलाएपछि गायिका आस्था आफैं प्रहरी समक्ष पुगेकी हुन् । उनी सिक्किमको कन्सर्ट छोट्याएर यही प्रकरणका लागि नेपाल आएकी हुन् । प्रहरी परिसरमा पुगेपछि उनलाई महानगरिया प्रहरी परिसर टेकुले अनुसन्धानको लागि भन्दै हिरासतमा लिएको हो ।

हिरासतमा केही समय सोधपुछ गरेर प्रहरीले उनलाई सोमबार मध्यान्नमा म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय लग्यो । त्यहाँबाट कागज बनाएर जिल्ला प्रशासनका कार्यालय काठमाडौं लगियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गायिका आस्थालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीको मागलाई अनुमति दिएका हुन् ।

कन्सर्टका लागि गायिका आस्था राउत गत १ माघमा सिक्किम जाने क्रममा भद्रपुरसम्मको बिमान चढ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पुगिन् । टर्मिनलमा चेकजाँचको क्रममा गायिका राउतले हतारमा ज्याकेट खोल्न बिर्सिईन । सोही क्रममा प्रहरी जवान रमिता श्रेष्ठबीच उनको बादबिबाद भएको थियो । आफुलाई ती महिला प्रहरीले तँ भनेर दुब्र्यवहार गरेको भन्दै सोही दिन गायिका आस्थाले सामाजिक सञ्जाल फेसबुकमा प्रहरी प्रशासन र ति महिला बिरुद्ध आक्रोस पोख्दै गालीगजौल युक्त लाईभ भिडियो सार्वजनिक गरिन् ।

महिला प्रहरी रमिता श्रेष्ठले सो भिडियोको आधारमा प्रहरीमा आस्था बिरुद्ध उजुरी दिएकी थिईन् । सोही उजुरीको आधारमा प्रहरीले ५ माघमा जिल्ला अदालत काठमाडौंबाट आस्था बिरुद्ध पक्राउ पूर्जी लिएको हो । सोही पूर्जीको आधारमा आस्थालाई सोमबार बिहान परिसरकै कार्यालयबाट थुनामा राखिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालका अनुसार गायिका आस्थालाई अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि म्याद थप गरिएको हो ।

गायिका आस्था सिक्किममा कन्सर्ट सकेर शुक्रबार मात्र नेपाल आएकी हुन् । प्रहरीले उनलाई यसअघि पक्राउ गर्ने सूचीमा राखेको थियो । आस्था आफैं प्रहरी कार्यालय पुगिदिएपछि प्रहरीलाई के खोज्छस शिकारी शिकार जस्तै भयो । प्रहरीले सोमबारबाटै हिरासतमा राखेर आस्थालाई अनुसन्धान गरिरहेको छ । उनको अहिले प्रहरीमा बयान चलिरहेको छ ।